
काठमाडौं, असोज १ । राष्ट्रियसभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएका गौतमले बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
शपथग्रहणपछि गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्नेबाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताउनुभयो ।
पार्टीले देशमा समाजवादको संकल्प पूरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियसभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो ।
शपथग्रहण समारोहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङलगायतको उपस्थिति थियो ।
सरकारले ५९ सदस्यीय राष्ट्रियसभाका लागि तीनजना सांसद मनोनयको सिफारिस गर्न मिल्ने संवैधानिक प्रावधानअनुरुप गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै राष्ट्रियसभामा मनोनीत गर्नुभएको हो ।
गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको थियो ।
गौतम राष्ट्रियसभाको सदस्य बनेसँगै अब नेकपा सचिवालयका नौजना नै सदस्य संघीय संसदको सदस्य बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्