
काठमाडौं । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ ।
प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले बाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गर्नुभएको हो ।
नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठ वटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ ।
गणमा अन्य ठाउँबाट नयाँ पदस्थापन भई जनशक्ति आउने क्रम सँगसँगै आवश्यकताका आधारमा विन्यास पनि सँगसँगै गर्न थालिएको नवस्थापित गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
यस गणमा ६२१ जनशक्ति रहने व्यवस्था छ । सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनको काम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गत असार २९ गते ‘रिजर्भ गण’को स्थापना गर्ने निर्णय गरेअनुरुप नयाँ गण स्थापना भई सञ्चालनमा आएको हो ।
यो नवस्थापित गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको निगरानी गर्ने जिम्मेवारी पाएको छ ।
अहिले प्रदेश–२ का दुई स्थानमा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा रिजर्भ गणको स्थापना गरिएको छ ।
बर्दिवासका साथै बाराको पिलुवामा यस्तै गण स्थापना गरिएको बाहिनीपति ब्रम्हचार्यले बताउनुभयो ।
सशस्त्र प्रहरीले प्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीमा सीमा सुरक्षा प्रबन्ध बढाउन यस अघि नै ७३ नयाँ सीमा सुरक्षापोष्ट थप्ने गृहकार्य थालिसकेको छ ।
यसक्रममा १२ वटा पहिलो चरणमा स्थापना भएर धमाधम सञ्चालन गरिने क्रममा छन् ।
त्यसैगरी दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ गरी प्रदेशभरि जम्मा १२३ सीमा सुरक्षापोष्ट पुर्याइने बाहिनीपति ब्रह्मचार्यले स्पष्ट पार्नुभयो ।
योसँगै सीमा क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्