
काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।
शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउनुभएको हो ।
व्यावहारिकरुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उहाँको भनाइ छ ।
जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
‘व्यवहारकाक्रममा भोलि गएर केही अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्नसक्छ’-उहाँले भन्नुभयो-‘त्यस्तो पर्यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन ।
संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभयो ।
उहाँले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।
उहाँले संविधान संशोधनका लागि सबैले खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गर्नुभएको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा भएको पुस्तक विमोचनमा भौतिक दुरी कायम गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्