१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगर महानगरबासीलाई निःशुल्क रगत


13
Shares

विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् ।

महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सुरु गरेको हो ।

विराटनगर महानगरको वार्षिक कार्यक्रमअन्तर्गत् निःशुल्क रगत उपलब्ध गराउने योजनालाई समेटिएको छ ।

नेपाल रेडकक्रस सोसाइटी, मोरङसँग समन्वय गरेर महानगरबासीलाई रगत आवश्यक परे निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

महानगरपालिकाले विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रलाई वार्षिकरुपमा एकमुष्ट खपत भएको रगतको मूल्य भुक्तानी गर्ने सम्झौता गरिसकेको छ ।

रक्तसञ्चार केन्द्रले एक प्रिन्ट रगतको ८१० रुपैयाँ लिँदै आएको छ ।

निःशुल्करुपमा रगत पाउन बिरामी महानगरभित्रको स्थायी बासिन्दा भएको हुनुपर्नेछ ।

यस्तै, अस्पताल भर्ना भएका बिरामीलाई चिकित्सकले रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ । डाक्टरले पुर्जा दिएपछि पुर्जा लिएर रेडक्रस सोसाइटीमा गएपछि रगत पाइने व्यवस्था छ ।

महानगरपालिका र रेडक्रस सोसाइटीबीच आर्थिक वर्ष २०७७/२०७८ असार मसान्तसम्मका लागि यो सेवा सुचारु गर्ने सम्झौता भएको हो ।

रक्तसञ्चार सेवा केन्द्रबाट एक वर्षसम्म खपत भएको रगतको आधारमा महानगरले रेडक्रस सोसाइटीलाई भुक्तानी गर्नेछ ।

अन्य स्थानीय तहसँगसमेत समन्वय र सहकार्य गरेर अगाडि बढ्ने रेडक्रस मोरङको योजना छ ।

यसैगरी, कोशी अस्पताल विराटनगरले पनि प्रसूति सेवामा निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

रेडक्रस सोसाइटीसँग समन्वय गरेर प्रसूति गराउन कोशी अस्पताल आउने आमाहरुका लागि आवश्यक रगत निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

कोशी अस्पतालको स्त्री तथा प्रसूति विभागअन्तर्गत् प्रसूतिकक्षमा भर्ना भएका गर्भवती महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कोशी अस्पताललका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासको भनाइ छ ।

मोरङका १७ ओटै पालिकाले महिलालक्षित यस्ता कार्यक्रमलाई प्रोत्साहन दिए रगतको अभावमा महिलाहरुको मृत्युदर रोकिने सम्भावना देखिन्छ ।

भिडियो हेर्नुहोस्