
काठमाडौं । नयाँ सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ ।
गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले ३–१ ले हराएको हो । खेलमा क्रिष्टल प्यालेसलाई विजयी गराउन विल्फ्रेड जाहाले दुई तथा एन्ड्रोस टाउन्सेन्डले एक गोल गरे ।
पराजित टोली म्यान्चेस्टरका लागि नयाँ खेलाडी डोनी भान डे विकले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो ।
आर्सनलको जितमा अलेक्जेण्डर लाकाजेट् र एन्केतियाले एक एक गोल गरे । वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल गरे ।
गएराति भएका अन्य खेलहरुमा लिड्स युनाईटेडले फुल्हमलाई ४–३ ले हराउँदा एभर्टनले वेष्ट ब्रोममाथि ५–२ को जित निकाल्यो ।
इंग्लीश प्रिमियर लिगमा आज दुई खेल हुनेछन् । साविक विजेता लिभरपुलले उपाधि दावेदार चेल्सीसँग खेल्दा लेष्टर सिटीले बर्न्लेको सामना गर्नेछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्