१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पहिचान बोकेको बुट्टेनली लोप हुने अवस्थामा, कलाकारको अभावमा कला संरक्षण भएन


0
Shares

बाग्लुङ । बागलुङको पहिचान बोकेको बुट्टेनली संरक्षणको अभावमा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।

संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली पुस्ता हस्तान्तरण नहुँदा लोपोन्मुख अवस्थामा पुगेको हो ।

पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा प्रख्यात रहे पनि सिपालु कलाकारको अभाव हुँदा बुट्टेनलीको संरक्षण हुन सकेको छैन ।

काष्ठकला कुँद्न सिपालु कलाकारले निगालो बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य, लगाएतका प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आएको छ ।

बुट्टेनली बनाउने कला कौशल भएका बागलुङमा एकमात्र पात्र बसन्तजङ्ग राजभण्डारी हुनुहुन्छ ।

बागलुङ बजारको स्थानीयबासिन्दा राजभण्डारी विगत ३८ वर्षदेखि बुट्टेनली संरक्षणमा सक्रिय भएपनि अन्य मानिसले बुट्टेनलीमा बुट्टा भर्ने सीप नजान्दा समस्या भएको गुनासो गर्नुहुन्छ ।

बागलुङमा बाहिरबाट आउने पर्यटक तथा पाहुनाले सम्झनाको चिनोस्वरूप किनेर लैजाने र उपहार दिने बुट्टेनली बनाउने कलाकार तथा बुट्टेनली बनाउन प्रयोग हुने निगालो बाँसको पनि अभाव खड्किएको छ ।

विशेष गरी हुक्काको लागि प्रयोग गरीने नली हुक्काको प्रचलन लोप हुँदै गएको र बुट्टेनली बनाउने पेसाप्रतिको आकर्षण घट्दै गएको छ ।