
काठमाडौं, असोज ५ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सोमबार दिउँसो वर्षा भएको छ ।
प्रदेश नम्बर-१, प्रदेश नम्बर-२ तथा वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको हो ।
योक्रम अबको चार-पाँच दिन रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो अवधिमा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुनेछ । तराई क्षेत्रमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तर-पश्चिमतर्फ सर्नेक्रममा मनसुन सक्रिय भएको हो । सो प्रणाली नेपालनजिकै भएर सर्ने हुँदा वर्षाको सम्भावना अधिक देखिएको महाशाखाले जनाएको छ ।
यो अवधिमा काठमाडौं उपत्यकामा भने भारी वर्षाको सम्भावना देखिँदैन ।
‘पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ’-महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले इमेजखबरसित भन्नुभयो-‘काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
उहाँकाअनुसार मनसुनी प्रणालीको प्रभावले मेघगर्जन र चट्याङसहितको वर्षा तथा हावाहुरीको सम्भावना रहेको हो ।
बढी वर्षा
नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ भने २३ सेप्टेम्बरमा बाहिरिन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।
यो वर्ष दुई दिन ढिलागरी मनसुन नेपाल भित्रिएको थियो । अझै करिब एक साता देशमा मनसुनको प्रभाव रहने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
विगतका वर्षको तुलनामा यो वर्षको मनसुनमा बढी वर्षा भइसकेको उहाँले जानकारी दिनुभयो ।
मनुसन अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।
सतर्कता अपनाउन अनुरोध
मौसम पूर्वानुमान महाशाखाले आउँदो २४ घन्टाका लागि प्रदेश-१, प्रदेश- २, वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
यस्तै, बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशका सबै नदीमा बहाव बढ्ने जनाएको छ ।
महाशाखाले असोज ७, ८, ९ र १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेको भन्दै असोज ७ देखि ११ गतेसम्म नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन तल पढ्नोस् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ५ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ । ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
असोज ६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
असोज ७ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
बाढी पूर्वानुमान महाशाखाको बुलेटिन तल पढ्नोस् ।

प्रतिक्रिया दिनुहोस्