
काठमाडौं, असोज ६ । राप्रपाबीचको एकताको लामो गतिरोधको अन्त्य भएको छ ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिइएको छ ।
मंगलबारै पार्टी एकतापछि गठन भएको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बसेको थियो । सो बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्नेलगायतका निर्णय गरेको थियो ।
सबै कागजातहरु पूरा गरी दिउँसो दल दर्ता गराइएको वरिष्ठ नेता ध्रुबबहादुर प्रधानले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन आयोगमा २५५ नम्बरमा दर्ता गराएको पनि बताउनुभयो ।
आयोगमा प्रधानसँगै दीपक बोहरा, रामशरण पाठक र वरिष्ठ अधिवक्ता राजु बस्नेत गई दल दर्ता गराउनुभएको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पार्टीको एकता महाधिवेशन आउँदो वैशाख २५ देखि २८ गतेसम्म गर्ने, चुनाव चिह्न हलो हुने र राप्रपाको पुरानै झन्डा प्रयोग गर्ने निर्णयसमेत गरेको थियो ।
राप्रपाका तीन अध्यक्षहरु पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबीच सोमबार पार्टीको चुनाव चिह्न हलो कायम गर्नेलगायतका विषयमा सहमति बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्