१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापाको नाडेप लघुवित्त वित्तीय संस्थाको ठगी धन्दा, नलिएको ऋण तिर्न ताकेता


0
Shares

झापा । समाजिक हितका लागि खुलेका सहकारी संस्थाहरुले समाजमै ठग्छन भन्दा पत्याउन गाह्रो हुन्छ ।

तर, झापास्थित नाडेप लघुवित्त वित्तीय संस्थाले किर्ते हस्ताक्षर गर्दे आफ्नै सदस्यहरुलाई ठगेपछि झापामा सहकारीकाविरुद्ध आन्दोल हुन थालेको छ ।

झापाको बिर्तामोडमा रहेको नाडेप लघुबित्त बित्तिय सहकारी संस्थाले आफ्नै ग्राहकहरुलाई ठगेको रहस्य खुलेको छ ।

झापाको काँक्रामारीकी देवका संग्रौलाले आठ बर्ष अघि बिर्तामोडमा रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ५० हजार रुपैयाँ ऋण लिनुभयो ।

आफूले लिएको ऋण पाँच बर्ष अगाडि नै चुक्ता गरेपनि अहिले उनले लिएको ऋण र ब्याज उनको नाममा जस्ताको तस्तै छ ।

काँक्रामारीमा उक्त संस्थाले महिला समूह गठन गर्दै ऋण र बचतको कार्यक्रम सञ्चालन गरेर यस क्षेत्रका महिलाहरुलाई ठग्दै आएको छ ।

उनी मात्र हैनन् अहिले दमककै राधा उप्रेतीको पनि आफूले लिँदै नलिएको ऋण संस्थाले तिर्नको लागि पटक–पटक ताकेता गरेको गुनासो छ ।

बाह्रदशी–६ निवासी डिल्लीराम कँडेलको पनि समस्या उस्तै छ । कँडेलकी श्रीमती कल्पनाले पनि कारोवार गर्ने क्रममा समूहबाट लिएको सबै ऋण चुक्ता गरेर चार वर्ष अघि नै उक्त समूहबाट बाहिरिएपनि उहाँको पनि नाममा ऋण जस्ताको तस्तै देखिएको छ ।

उनीहरु जस्ता समूहमा आवद्ध धेरैले सामुहिक रुपमा यहि समस्या झेलेपछि उनीहरुले यस संस्थाको कार्यालयमै पुगेर आन्दोलन थालेका छन् ।

महिलाहरुको सामाजिक बिकास गर्ने भन्दै टोलटोलमा आमा र महिला समूह बनाउदै हिडेको यो संस्थाले अन्य समूहमा कति ठग्यो होला बिस्तारै बाहिर आउला ।

तर, यसरी ठगेको रहस्य बाहिर आएपछि उनीहरुले कारवाहीको माग गरेका छन् । संस्थाका उपशाखा प्रमुख राजेन्द्र खतिवडाले भने यस अघिका कार्यालय प्रमुखको बदमासी भएको आरोप लगाउनुभयो ।

उहाँले संस्थामा आवद्ध सबै कर्मचारीलाई निलम्वन गरिसकेको र निश्पक्ष छानविन भई रहेको बताउनुभयो ।

समूहमा आवद्ध मध्ये तिलककुमारी राई, प्रेमकुमारी पौडेल, लीला संग्रौला, मीना पौडेल, लीला कट्टेल, धनमाया लिम्बू लगायतको नाममा किर्ते हस्ताक्षर गर्दै २० लाख रुपैयाँ भन्दा बढी संस्थाले ऋण लगानी गरेको देखाएको छ ।

तर, समूहमा आवद्ध सदस्यहरुले संस्थाबाट ऋण नलिएको र लिएको ऋण समेत चुक्ता गरेको बताएका छन् ।

डिप्रोसको नामबाट यस अघि संस्थाले गाउँ गाउँमा समूह गठन गर्दै बचत तथा ऋणका कार्यक्रम सञ्चालन गरेको थियो ।

तर, संस्थाको नाम नै परिर्वतन गरेर नाडेप लघुवित्त वित्तीय संस्थाका नामबाट अहिले कारोवार भइरहेको छ ।

संस्थाका कर्मचारीले समूहमा आवद्ध सदस्यको किर्ते हस्ताक्षर गर्दै रकम कुम्ल्याएपछि समूहमा आवद्ध अधिकांश सदस्यको उठिबास लागेको छ ।