
काठमाडौं, असोज ७ । कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् ।
कोभिड-१९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेर कोभिड-१९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको सुरुआत गरेका हुन् ।
उनीहरुले ‘मैले जितें कोरोना, म गर्छु प्लाज्मा दान’ भन्ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड-१९ संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले अभियान सुरु गरिएको बताउनुभयो ।
प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा कोभिड-१९ बाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए ।
उनीहरुले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरुले प्लाज्मा दान अभियानको सुरुआत गरेको बताए ।
‘मिल्नेले दान गरौं, नमिल्नेले उत्प्रेरित गरौं’, ‘सबै लागौं, सँगसँगै लागौं’ भन्दै अभियान सुरु गरिएको उनीहरुले बताए ।
पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड-१९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् ।
सरकारले पनि परीक्षणको रुपमा बिरामीको स्वीकृति लिएर उपचार गर्नसक्ने व्यवस्था गरेको छ ।
त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरुको जीवनरक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्नेपनि उनीहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्