
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी/पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
विभिन्न प्रविधिको माध्यमबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्बसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको केही दिन मुलुकभर नै बर्षा हुने छ । केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने छ ।
त्यसैले यो अबस्थामा बाढी पहिरोको घटना हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।
जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण आज कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ ।
मङ्गलबारदेखि नै देशका सबै नदीमा बहाव बढ्दो रहेको र शनिबारसम्म देशै भरका नदीमा बहाव उच्च हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्