
डडेल्धुरा, असोज ८ । चारपटक प्रधानमन्त्री भइसक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको अधिवेशनको चहलपहल बढ्न थालेको छ ।
प्रतिनिधिसभाका लागि डडेल्धुराबाट सांसद निर्वाचित सभापति देउवा २७ महिनायता गृहजिल्ला नपुगेपनि जिल्लामा हुने छैटौं अधिवेशनको आन्तरिक सरगर्मीको ताप भने बढ्दो देखिन्छ ।
सुदूरपश्चिम प्रदेशको विकासका लागि योगदान गरेकै कारण पनि देउवाको प्रभाव परेको सुदूरपश्चिममा नेपाली कांग्रेसको अधिवेशनलाई महत्वका साथ हेरिने गरिन्छ ।
पार्टीको केन्द्रीय महाधिवेशनका लागि तयारी भइरहँदा देउवाको गृहजिल्ला डडेल्धुराको अधिवेशनलाई त झनै महत्वका साथ हेरिएको छ ।
जिल्लाका विभिन्न संरचनामा क्रियाशील सदस्यता वितरण र जिल्लामा मौलाएको चरम गुटबन्दीका कारण अधिवेशन पेचिलो बन्दै गइरहेको छ ।
एकातिर अधिवेशनको चटारो र अर्कातिर केन्द्रीय सभापति देउवाको कारण ओझेलमा परेका जिल्लाका नेताहरुसमेत एकापसमा पूर्वाग्रही बन्दै गइरहेको भन्दै क्रियाशील र इमान्दार कार्यकर्तामा भने चिन्ता बढ्दै गएको जनप्रतिनिधि धनबहादुर साउदको बुझाइ छ ।
पार्टीभित्रको गुटबन्दी र व्यक्तिकेन्द्रित राजनीतिले जिल्लाको राजनीतिलाई संरक्षण गरेको आरोप केन्द्रीय सभापति देउवामाथि लाग्दै आएको छ ।
जनजीविका र सार्वजनिक विषयमा मौन रहेका डडेल्धुराका कांग्रेस नेताहरु अधिवेशनमा होमिँदा वडादेखि जिल्ला र प्रदेशसमेत गुटबन्दीको सिकार बन्दै गएको छ ।
पार्टीको केन्द्रीय राजनीति, प्रतिपक्ष पार्टीको भूमिकामा समेत रहनुभएका देउवाले आफ्नो गृहजिल्लाको रडाको मिलाउन भने खासै चासो दिनुभएको छैन ।
त्यसैले पार्टीलाई आन्तरिक कलहबाट रोक्ने र मिलाउने दायित्व सभापतिकै भएकाले देउवाले यतातिर ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्