
टिस्टुङ, असोज ८ । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घन्टाका अवधिमा झन्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिनुभयो ।
बलामीकाअनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण बिहीबार बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१.२१ मिटर पुगेको छ ।
अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५१९.४८ मिटर थियो ।
कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ ।
वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत्गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ ।
आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्