
काठमाडौं, असोज ८ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ ।
प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकुलपति देवनारायण साहले कोभिड–१९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो ।
सो दिन कारागार प्रशासनले राति १०ः५५ बजे ल्याउँदा नै उहाँको मृत्यु भएको पाइएको साहले जानकारी दिनुभयो ।
मृतककी छोरीले अर्काे दिन बाबुको अन्तिमपटक मुख हेर्ने इच्छा गरेकाले दिइएको उहाँले बताउनुभयो । छोरीले बाबुको फोटो खिचेर हालेपछि त्यो ‘भाइरल’ भएको थियो ।
उहाँले भन्नुभयो-‘जेलले किन अस्पताल ल्याउन ढिलो गर्यो भन्ने जवाफ वीर अस्पतालले भन्न सक्दैन ।’
अस्पतालमा शवगृह नहुँदा त्यसको व्यवस्थापन हुन नसकेको उपकुलपति साहले बताउनुभयो ।
सामान्य अवस्थामा अस्पतालले केही समय रहने शवलाई त्रिवि शिक्षण अस्पतालको शवगृहमा पठाउने गरेको थियो । कोभिड–१९ का कारण अहिले पठाउन सकिएको छैन ।
आर्थिक अभावका कारण अस्पतालले विभिन्न किसिमका समस्या झेल्न बाध्य भइरहेको उपकुलपति साहले बताउनुभयो ।
पहिले अस्पतालको आन्तरिक स्रोतबाट नै प्रतिष्ठान र अस्पतालका कर्मचारीलाई तलब खुवाउने गरेपनि कोरोनाका कारण आन्तरिक स्रोत बन्द भएको छ । यसले गर्दा करारका कर्मचारीलाई तलब खुवाउन र दैनिक आवश्यक सामग्री खरिदमा समेत समस्या भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो-‘समयमा तलब भत्ता दिन नसकेकाले हामी दैनिक कर्मचारी युनियनबाट घेरिइरहेका छौं ।’
अस्पतालका स्वास्थ्यकर्मीमध्ये अहिले ६० जना संक्रमित भएकाले ‘आइसोलेसन’मा छन् । अहिलेसम्म १०० जना संक्रमित भइसकेको उहाँले जानकारी दिनुभयो ।
देशको सबैभन्दा जेठो र सबैभन्दा बढी चाप भएको सो अस्पतालमा बिरामीको उपचारमा बेवास्ता गरेको भए यी स्वास्थ्यकर्मी संक्रमित हुने अवस्था नआउने उहाँले बताउनुभयो ।
अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिम भत्ता लिएका छैनन् । उहाँले भन्नुभयो-‘हामीले अहिले केही दिनकोमात्रै भत्ता दिनसक्ने अवस्था छ । तर, उहाँहरु त्यो लिन मान्नुभएको छैन ।’
अस्पतालमा हुनुपर्नेजति सफाइ नभएको उपकुलपति साहले स्वीकार गर्नुभयो । अस्पतालको ढल सडकमुनिबाट लगिएको र एक घन्टा वर्षा हुँदा पनि भित्रै पानी आउने गरेको छ । यस विषयमा महानगरपालिकासँग पनि पटक-पटक कुराकानी भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘महानगरले केही प्रयास गरेपनि पूर्णरुपमा व्यवस्थापन हुनसकेको छैन ।’
समिति सभापति जयपुरी घर्तीले अस्पतालमा अहिलेसम्म पनि शवगृह नहुनु गम्भीर विषय भएको बताउनुभयो ।
स्रोतको कसरी ठिक तरिकाले व्यवस्थापन गर्ने भन्नेमा अस्पताल प्रशासनले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
समितिले स्वास्थ्यका विषयमा नियमित छलफल गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
समितिकी सदस्य अञ्जना बिसङ्खेले जैसवालको मृत्युकाबारेमा फैलिएको हल्लाकाबारेमा सत्यतथ्य आउनुपर्नेमा जोड दिनुभयो ।
समिति सदस्य खगराज अधिकारीले अस्पतालले आगामी दिनमा शौचालयदेखि यहाँको शव व्यवस्थापनसम्मको विषयमा ध्यान दिनुपर्ने औंल्याउनुभयो ।
समितिलाई बिहीबार नै कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका काम-कारबाहीको अनुगमन गर्न गठित उपसमितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
उपसमितिले काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पताललगायत सरोकार राख्ने निकायका प्रतिनिधिसँग भेटेर र स्थलगत अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन तयार गरेको हो ।
उपसमितिले आगामी दिनमा उपत्यकाबाहिरसमेत पुगेर त्यहाँको कोभिडको उपचारका अवस्थाकाबारेमा अध्ययन गर्ने भएको छ ।
प्रतिवेदनमा कोभिड–१९ को ‘पीसीआर’ रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबलाई एकीकृतरुपमा समन्वय गर्नुपर्ने सुझाव दिइएको छ ।
जनशक्ति व्यवस्थापन गरी पीसीआर ल्याबलाई पूरा समय काम गर्ने र पीसीआर रिपोर्ट छिटोछरितो उपलब्ध गराउन पनि निर्देशन गरिएको छ ।
कोभिड आइसोलेसनका लागि स्वीकृति दिँदा मापदण्डसहितको खानेकुराको ‘मेनु’ तयार गरी सम्झौता गर्न भनिएको छ ।
त्यस्तै, होम आइसोलेसनमा रहेका संक्रमितलाई पनि स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्