१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु


0
Shares

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ ।

दुवैजनाको शव शुक्रबार नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पस्नुभएको थियो ।

साह बाहिर नआएपछि उहाँलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पस्नुभएको थियो ।

दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पस्नुभएको थियो । लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस हुनुभएको थियो ।

त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा दुवैको शव फेलापरेको हो ।

बेहोस भएका लोलाई भने उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

साह र नेपालीको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।