२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जापानका नयाँ प्रधानमन्त्री विनासर्त किमलाई भेट्न तयार


0
Shares

न्यूयोर्क, असोज १० । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनुभएको छ ।

उहाँलाई आफूले विनासर्त भेट्न तयार रहेकोपनि उहाँले शुक्रबार स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभएको छ-‘जापानको नयाँ प्रधानमन्त्रीकारुपमा म उहाँलाई भेट्न चाहन्छु । त्यसका लागि कुनै सर्त मसँगै छैन ।’

संयुक्त राष्ट्रसंघको ७५औं महासभामा बोल्नेक्रममा उहाँले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेकोपनि स्पष्ट पार्नुभयो ।

उहाँले जापान—डीपीआरके प्योङयाङ घोषणाको स्मरण गर्दै त्यसअनुसार नै सम्बन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गर्नुभयो ।

‘आपसी सम्बन्ध र परमाणुसम्बन्धी विषयमा सन् २००२ मा भएको दुईपक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने कुरामा मेरो जोड छ’-उहाँले भन्नुभयो ।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङयाङका बीचमा रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा नै आफू रहेकोपनि जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो-‘हामी हाम्रो दुईपक्षीय कारणलेमात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुर्‍याउनुपर्दछ । त्यसैले हामीबीचमा सहकार्य र सुमधुर सम्बन्धको आवश्यकता छ ।’

उहाँले आफू आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभएको छ ।