
परासी, असोज १० । पश्चिम नवलपरासीमा पाकेर भित्र्याउन ठिक्क भएको धानखेती बाढीले डुबाएपछि किसानहरु मर्कामा परेका छन् ।
तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पाल्हीनन्दन र सरावल गाउँपालिकामा लगाइएको धानखेती डुबानमा परेपछि किसानहरु चिन्तित बनेका हुन् ।
डुबानका कारण सरावल गाउँपालिकाको वडा नम्बर-४ देखि ७ नम्बर वडा र पाल्हीनन्दन गाउँपालिकाको १ र ६ नम्बर वडामा लगाइएको तीन हजार बिघाको धानबाली पूर्णरुपमा डुबानमा परेको हो ।
डुबानमा परेकोबाहेक त्यस क्षेत्रमा लगाइएको सयौं बिघा धानखेती पनि आधाभन्दा बढी डुबाएको छ । बचेका केही धान काँचैमा काटिन थालेको छ ।
किसानहरुलाई अहिले वर्षभरि परिवारलाई के खुवाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । खेतमा तयार भएको धान कामै नलाग्ने गरी डुबेको किसानहरु बताउँछन् ।
बाढी सुक्न अझै १० दिनजति लाग्ने र त्यति बेलासम्म डुबेको धान कुहेर कामै नलाग्ने हुने किसानहरुको भनाइ छ ।
गाउँसँगै धानखेती डुबानमा परेपनि जनप्रतिनिधिहरुले राहतका लागि आश्वासनबाहेक केही नदिने गरेको स्थानीयको गुनासो छ ।
सरावल गाउँपालिकामा एक हजार बढी र पाल्हीनन्दन गाउँपालिकामा दुई हजार बढी धानबाली डुबेको स्थानीय तहहरुले जनाएका छन् ।
किसानहरुले लगाएको धानबालीलाई पूर्ण क्षति पुर्याएकाले राहतको प्याकेज ल्याउने गाउँपालिका प्रमुखहरुले बताएका छन् ।
पीडित किसानहरुलाई अनुदान उपलब्ध गराउन लगत संकलन कार्य अघि बढाउन लागिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।
स्थानीय झरही र धनेवाखोलाले वर्षेनि यस क्षेत्र डुबानमा पर्दै आएको छ । पानीको उचित निकास नभएसम्म यहाँका स्थानीयहरुले हरेक वर्ष क्षति व्यहोर्नुपर्ने भएकाले सरकारले तत्कालका लागि राहतभन्दा दीर्घकालीन योजनाका कार्यक्रम ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्