
दार्चुला, असोज १० । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ ।
गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो ।
भारतले सडक निर्माणकाक्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नम्बर-१, छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो ।
चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो ।
मौसम प्रतिकूल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।
‘भिर फुटाएर ट्र्याक खुलाइएको छ’-उहाँले भन्नुभयो-‘सफाइ गर्ने काम एक-दुई दिनभित्र सकिन्छ ।’
यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ ।
व्यासको छांगरु र तिंकरका बासिन्दा कात्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ ।
चट्टानी भूगोलले केही ढिलाइ भएपनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्नेगरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताउनुभयो ।
घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्योबाहेकका अन्य चार-पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो ।
घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिनुभयो ।
तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत् बाटो खुलाउने काम भएपनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन ।
यो क्षेत्रमा अहिलेपनि तारको सहारामा चट्टानी भूभागमार्फत् नदी पार गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै, तम्बाकुनजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगेपुल बगाएको छ भने कल्जगाडभन्दा तल र माथि बाटो भत्किएको छ ।
सबै ठाउँमा बाटो निर्माण गर्नसकेमात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उहाँले बताउनुभयो ।
तम्बाकुभन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् ।
घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताउनुभयो ।
सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘अहिले परामर्शदातामार्फत् अध्ययन भइरहेको छ ।’
सो सडकखन्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सुरु गरेको छ ।
सैनिक मुख्यालयकाअनुसार मोटर बाटोको डीपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ ।
महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्नसके व्यासीको सपना पूरा हुने स्थानीयबासी बताउँछन् ।
यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीनसँगको व्यापार, अपि हिमाललगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन् ।
‘अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन् । सदरमुकाममा रहेका त्यहाँका मानिस पनि गाउँ फर्किन पाएका छैनन् । चाँडो बाटो निर्माण भयो भने स्थानीयबासीलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ’-व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले भन्नुभयो ।
सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवतजावत गर्न पाए हुन्थ्यो भन्नेमा छन् ।
व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् ।
अहिले व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्मसमेत बसेको छ । बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकोप्टर कुर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्