
काठमाडौं, असोज १० । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ ।
बझाङ घर भइ काठमाडौं उपत्यकामा कार्यरत् ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिकरुपमा सघनकक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यहीँ निजको मृत्यु भएको जानकारी दिइएको छ ।
उनको पछिल्लो स्वाब परीक्षणमा कोभिड–१९ ‘पोजिटिभ’ पुष्टि भएको थियो ।
यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको संख्या दुई पुगेको छ । सेनामा कोरोना संक्रमितको संख्या दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन् ।
सेनामा हाल कोरोना सक्रिय संक्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्