
दार्चुला, असोज १० । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१, छांगरुमै बस्ने भएको छ ।
स्थायीरुपमा संरचना निर्माण नभएपनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनैपनि हालतमा तल नझर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो-‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं । गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’
शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गर्नुभएको थियो ।
भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उहाँले जे अवस्था रहेपनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताउनुभयो ।
गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बसेको थियो ।
गत असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।
सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झन्डै १४ किलोमिटर वरै बसेको छ ।
अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताउनुभयो ।
सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्नेगरी डिजाइन गरिएको छ । ढुंगा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिनेछ ।
बहुउपयोग हुनेगरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताउनुभयो ।
१५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिनेछन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
इमान्दारितापूर्वक काम गर्न महानिरीक्षकको निर्देशन
सशस्त्र प्रहरी प्रमुख खनालले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ ।
व्यासको छांगरु र तिंकर क्षेत्रको निरीक्षण भ्रमणपछि सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा मातहतका कर्मचारीलाई निर्देशन गर्नुहुँदै उहाँले सशस्त्र प्रहरीको जिम्मेवारीअनुसार इमान्दारितापूर्वक काम गर्न निर्देशन गर्नुभएको हो ।
सीमाका जनताको समस्या समाधान गर्दै कार्यभार अघि बढाऔं : सांसद ठगुन्ना
सांसद गणेशसिंह ठगुन्नाले सीमाका जनताको समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गर्नुभयो ।
व्यासको छांगरु क्षेत्रको निरीक्षणबाट फर्किएपछि उहाँले सीमामा रहेका जनताको समस्या समाधानका लागि सरकारले जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्