
काठमाडौं । सरकारले लामो समय निषेधाज्ञा गर्दा आर्थिक गतिविधि खुम्चिएसँगै राजस्व संकलनमा गिरावट आएको छ ।
कोरानाको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात कम हुँदा राजस्वमा कमी आएको हो ।
चालू आर्थिक वर्षको भदौ महिनासम्म राजस्व संकलन ४५ अर्ब ७८ करोड १० लाख ९० हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा राजस्व संकलन ६० अर्ब ३४ करोड २३ लाख २० हजार रुपैयाँ थियो ।
आयात कम हुँदा अघिल्लो वर्षको तुलनामा १५ अर्ब रुपैयाँ राजस्व संकलनमा कमी आएको विभागले जनाएको छ ।
गत साउन महिनामा २१ अर्ब ८७ करोड ६० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । साउन महिनाको तुलनामा भदौ महिना भने राजस्व संकलन बढेको छ ।
सामान्य अवस्थामा दैनिक २ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुँदै आएकोमा कोरोना भाइरसले आयात कम हुँदा राजस्वमा समेत कमी भएको भन्सार विभागको भनाइ छ ।
मुलुकमा सवैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थको खपतमा कमी आउँदा आयात न्यून भएको छ र यसले राजस्वमा समेत उल्लेख्य कमी आएको विभागको तथ्यांक छ ।
सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारी साधनका पार्टपूर्जा, सुन लगायतका अन्य सामानको आयात कम हुँदा राजस्व संकलनमा कमी आएको छ ।
चालू आर्थिक वर्षको भदौ महिनामा मुलुकबाट २० अर्ब रुपैयाँको निर्यात हुँदा १ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको तुलनामा वैदेशिक व्यापार पनि खुम्चिएको छ ।
२०७६/०७७ को पहिलो दुई महिनामा वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रुपैयाँ भएको भन्सार विभागको तथ्यांक छ ।
०७७/०७८ को दुई महिनामा वैदेशिक व्यापार १९ दशमलव ६४ प्रतिशतले खुम्चिएर १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँमा झरेको भन्सार विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्