
चितवन, साउन १ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य सहरी क्षेत्रमा तीनपांग्रे सवारी सन्चालनमा रोक लगाएको छ ।
यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य सहरी क्षेत्रमा दिउँसो र राति तीनपांग्रे सवारी सन्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।
महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भएपनि पोखरा बसपार्क, पुल्चोक, सहिदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्कचोक हुँदै वाइपास सडक तथा नारायणगढबजारको मिलनरोडलगायत मुख्य सहरी क्षेत्रमा तीनपांग्रे सन्चालनमा रोक लगाइएको बताइन् ।
भित्री सडकमा भने तीनपांग्रे सन्चालन गर्न सकिनेछ ।
महानगरपालिकाका इन्जिनियर विराट घिमिरेले इ–रिक्सा, ट्याम्पो, अटो रिक्साजस्ता तीनपांग्रे सवारीलाई निषेध गरिएकाले प्रमुख सहर र बजार क्षेत्र व्यवस्थित हुने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जिल्लामा पाँच हजार हाराहारीमा तीनपांग्रे सवारी–साधन सन्चालनमा रहेको र यसबाट धेरै दुर्घटना हुने गरेको छ भन्दै सीमित ठाउँबाट बाटो काट्न दिएर राजमार्ग र वाइपास सडकमा सन्चालनमा रोक लगाइएको बताए ।
तीनपांग्रे सवारी–साधनले जथाभावी बाटो काट्ने, साइड नदिने, तीव्रगतिमा चलाउनेजस्ता कारणले जिल्लामा बढी दुर्घटना हुने गरेको छ ।
महानगरपालिकाका उपप्रमुख पार्वती शाहले मुख्य सहरी क्षेत्रमा फुटपाथ बन्नाका साथै कार पार्किङ व्यवस्थापन भएपछि बजार व्यवस्थित हुने बताइन् ।
केही समयपछि मोटरसाइकल पार्किङ पनि व्यवस्थित गराइने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्