
काठमाडौं । बाहिरी जिल्लाहरुमा कोरोना संक्रमणले भयावह रुप लिँदा सुरक्षित जस्तो देखिएको काठमाडौं उपत्यका अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ ।
पछिल्ला दिनहरुमा दैनिक थपिने कूल संक्रमित संख्याको झण्डै ६० प्रतिशत संक्रमित त उपत्यकाका मात्रै छन् ।
यही रफ्तारमा संक्रमितको संख्या बढ्दै जाने हो भने घना जनघनत्व भएको उपत्यकाको अवस्था थप भयावह बन्ने विज्ञहरुको चेतावनी छ ।
लकडाउन होस् या निषेधज्ञा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि यी दुवै विधि अपनाइसकेको छ ।
तरपनि उपत्यकामा संक्रमितको संख्यामा कमी आउनुको सट्टा दिनानुदिन उकालो लागिरहेको छ ।
उपत्यकामा भदौ महिनादेखि बढ्न थालेको संक्रमितको संख्या अहिले २१ हजार ५ सय ७ पुगिसकेको छ ।
शनिबार त उपत्यकामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखियो । यस दिन देशभरका १ हजार २ सय ७ जना संक्रमित मध्ये ७ सय २४ जना उपत्यका थिए ।
जुन कुल संक्रमित संख्याको ५९.९८ प्रतिशत हो । यसअघि असोज ३ गते देशभरका १२ सय ४ संक्रमितमा उपत्यकाका मात्रै ७ सय ११ जना थिए ।
जुन कुल संक्रमित संख्याको ५९ दशमलब शून्य पांच प्रतिशत हो । यस्तै आईतबार कुल संक्रमित संख्याको ५१.४३ प्रतिशत संक्रमित उपत्यकाका मात्र पुष्टि भएको छ ।
असोज १ गते कुल संक्रमित सख्याको ४९.५९ प्रतिशत असोज २ मा ४५.५२ प्रतिशत, असोज ४ मा ५७.८८ प्रतिशत, असोज ५ मा ५८.४० प्रतिशत संक्रमित उपत्यकाका थिए ।
यस्तै असोज ६ गते ४७.७१ प्रतिशत असोज ७ गते ५४.३४ प्रतिशत र असाजे ८ गते ५०.४३ प्रतिशत संक्रमित उपत्यकामात्रै रहे ।
उपत्यकामा पनि सबैभन्दा बढी संक्रमित काठमाडौका छन् । हालसम्म भक्तपुरमा १९ सय २५, ललितपुरमा २ हजार ९९ संक्रमित हुँदा काठमाडौमा भने १७ हजार ४ सय ८३ संक्रमित छन् ।
जनस्वास्थ्यविद् पदम बहादुर चन्द सरकारले संक्रमण रोकथामको लागि भन्दै लक डाउन र निषेधज्ञा गरिरहने तर संक्रमण रोकथामको ठोस योजना ल्याउन नसक्दा अहिलेको भयावह स्थिति आएको बताउनुहुन्छ ।
सरकारले संक्रमण रोकथामको लागि लकडाउन र निषेधज्ञा दुवैको अभ्यास गरिसकेकाले अब जनस्तरबाटै अभियान संचालन गनुपर्ने जनस्वास्थ्यविद शरद वन्त आवश्यकता औंल्याउनु हुन्छ, ।
कोरोना महामारीले यो रुप लिंदा पनि उपत्यकामा जनजीवन सामान्य अवस्थामा फकिंदै गएको जस्तो देखिन्छ ।
लकडाउन अन्त्यसंगै संक्रमणको जोखिम पनि कम भएजस्तो जस्तो,बढ्दो भीडभाड, सामाजिक दूरीको बेवास्ता, मास्कको कम प्रयोगले देखाउंछ ।
तर संक्रमण नियन्त्रण र रोकथामका लागि व्यक्तिगत सजकता , सतर्कता र सावधानी अपनाउनुको भने विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्