
काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने घोषणा गर्नुभएको छ ।
प्रश्रितले विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गर्नु भएको हो ।
खेम हरिकला समाज कल्याण परिषदले पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार गर्दै उहाँले विज्ञप्तिमा पुरस्कारको घोषणाको समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी आफनो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा उल्लेख गर्दै पुरस्कार नलिने उल्लेख गर्नुभएको छ ।
प्रतिष्ठानले २०७६ सालको पद्मश्री सम्मान प्रश्रित र पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको थियो ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ ।
उप्रेतिले पनि विवादित पात्र प्रश्रितसँगै पुरस्कार लिन नसक्ने भन्दै सार्वजनिक रुपमा जानकारी गराउनुभएको थियो ।
२०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरी प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्