१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा


0
Shares

काठमाडौं, असोज १२ । कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द पाराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

सरकारले आन्तरिक उडान सुरु गरेसँगै पाराग्लाइडिङ व्यावसायिकरुपमा सञ्चालनमा आउने भएको हो ।

अहिले परीक्षणकालकारुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गर्दै १५ असोजबाट व्यावसायिकरुपमा पाराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो ।

पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

‘लकडाउन’को अवधिमा पोखरामा व्यावसायिकरुपमा पाराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको नाकाका महासचिव बलराम आर्चायले बताउनुभयो ।

अहिले परीक्षणकालमा रहेका पाराग्लाइडिङ सुरक्षाका निश्चित मापदन्ड अपनाएर सञ्चालन भइरहेका छन् ।

पाराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसनअफ इरोनेटिक इन्टरनेसनल (एफएआई)काअनुसार पोखरा पाराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन् ।

पोखराका सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ ओटा कम्पनीले दैनिक पाराग्लाइडिङ उडाउने गर्दछन् ।

सुरुआती दिनमा विदेशी पाइलटले धानेको पाराग्लाइडिङ अहिले ३०० भन्दा बढी नेपाली पाइलट छन् । पाराग्लाइडिङबाट झन्डै दुई हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।