
काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएपनि निष्कर्ष निस्किइनसकेको अध्यक्षद्वयका सचिवालयहरुले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्ने इच्छा व्यक्त गरेपनि दुई अध्यक्षबीच मन्त्रीहरूको संख्या बाँडफाँटको विधि र मापदन्डमा कुरा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठन अन्योल बन्दै गएको हो ।
हाल २४ ओटा मन्त्रालय बनाइएमा सातओटा मन्त्रालय सम्हालेको पूर्वमाओवादीले कम्तीमा १० ओटा मन्त्रालय पाउनुपर्ने अडानमा दाहाल देखिनुभएको छ ।
दाहाल हालैमात्र राष्ट्रियसभामा मनोनीत हुनुभएका वामदेव गौतमलाईसमेत मन्त्री बनाउने पक्षमा देखिएपनि प्रधानमन्त्रीसँग सहमति हुन नसकेको दाहालको सचिवालयले जनाएको हो ।
वामदेवविरुद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतले यही असोज १४ गतेमात्रै गर्ने भएकाले मन्त्रिमन्डल हेरफेरमा अध्यक्षद्वयले आफूअनुकूलको वातावरण सृजना गर्न छलफल जारी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्