
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढेको छ ।
सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र दर्ता गरेको छ ।
नवीन्द्रराज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले पार्टी केन्द्रीय समितिमा विरोधपत्र दर्ता गराएका हुन् ।
प्रमुख विपक्षी पार्टीको जिम्मेवारीअनुरुप संसद र सडकबाट पनि सरकारका गतिविधिमाथि खबरदारी र नियन्त्रण गरी जनसमर्थन आफूतिर बढाउने भूमिकाबाट कर्तव्यच्यूत र अकर्मण्यजस्तै भएको विरोधपत्रमा उल्लेख छ ।
महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षकोरुपमा ध्रुवीकृत भएको विरोधपत्रमा जनाइएको छ ।
पार्टी सभापति देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्