६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बलात्कारीविरुद्ध मृत्युदन्ड कानुनको माग


0
Shares

काठमाडौं, असोज १२ । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदन्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृत्युदन्डको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदन्डको सजाय दिने व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घटनाहरुमा मृत्युदन्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला यादवले १६ वर्षमुनिकालाई बलात्कार गरिएको घटनामा मृत्युदन्डको सजाय दिने कानुन बनाउनुपर्ने बताउनुभयो ।

महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्ने विषयमा समितिले विगत एक वर्षबाट नै अनौपचारिक छलफल सुरु गरेको बताउनुभयो ।

सांसदहरु शान्तिमाया पाख्रिन, विमला राई पौड्याल, कोमल वली, उदया शर्मा पौडेल, लक्ष्मी चौधरी, आशा विक, लक्ष्मी विक, विमला विक, अमृता थापालगायतले पनि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

भेलाले बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्न अध्ययन तथा सुझाव दिनका लागि नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको नौ सदस्यीय समिति गठन गरेको छ ।

समितिले बलात्कार गर्नेलाई मृत्युदन्ड दिनका लागि कानुनी व्यवस्था गर्न तथा संविधान संशोधनका लागि पहल गर्ने संयोजक पाण्डले बताउनुभयो ।