
काठमाडौं, असोज १३ । सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
नाका खोल्ने विषयमा मंगलबार नेपाल र चीनका अधिकारीबीच सहमति भएको हो ।
नेपाल–चीन सीमाको मितेरी पुलमा दुई देशका अधिकारीबीच भएको बैठकमा असोज १९ (अक्टोबर ५ तारिख)देखि नेपालतर्फ सामान ल्याउने सहमति भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
‘अक्टोबर ४ (असोज १८)सम्म चिनियाँ पक्षले तयारी पूरा गर्छन् । अक्टोबर ५ देखि नेपालतर्फ सामान आउँछ’-उहाँले इमेजखबरसित टेलिफोनमा भन्नुभयो ।
चिनियाँ पक्षले पुल पारी सामान ल्याएर छोड्ने र नेपाली टोली गएर त्यहाँबाट सामान ल्याउने सहमति भएको उहाँले बताउनुभयो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदन्ड पूरा गरेरमात्र सामान भित्र्याइनेछ ।
नेपालतर्फ पहिरो खसेपछि गएको असार २५ गतेदेखि तातोपानी नाका बन्द गरिएको थियो ।
बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, तातोपानी भन्सार प्रमुख, जिल्ला जनस्वास्थ्य संयोजक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।
चीनको तर्फबाट विदेश मन्त्रालयका प्रतिनिधि, वाणिज्य मन्त्रालयका प्रतिनिधि, सिगात्सेका उपमेयरलगायत छलफलमा सहभागी रहेका भन्सार कार्यालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्