१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोप बनाएको गरे दाबी, पुगे जेल


0
Shares

काठमाडौं, असोज १३ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर १० लाख बढी व्यक्तिको ज्यान गइसकेको छ । संक्रमितको संख्या तीन करोड ३५ लाख नाघिसकेको छ । यसको औषधि र खोप अहिलेसम्म पत्ता लागेको छैन ।

विश्वमा केही खोपहरु परीक्षणको चरणमा रहेका छन् । तर, आधिकारिकरुपमा खोप बनिसकेको छैन ।

खोप बनाउने होडबाजी विश्वभरि नै छ । खोप बनाएको दाबी गर्नेहरुपनि उत्तिकै छन् । भारतमा यस्तै दाबी गर्ने एकजना पक्राउ परेका छन् ।

भारत, ओडिशाको बरगढ जिल्लामा कोरोनाविरुद्धको नक्कली खोप बनाएको आरोपमा गएको शुक्रबार ३२ वर्षीय युवक पक्राउ परेका हुन् ।

उनले कोरोनाको खोप बनाउन सफलता मिलेको दाबी गरेका थिए । आफूले बनाएको खोप बेच्न दिन अनुमतिपत्रका लागि प्रशासनलाई इमेलसमेत गरे । त्यसपछि घटना बाहिरिएको हो ।

इमेलसँगै प्रहरी र अरु अधिकारीहरुले रुसुदा गाउँस्थित उनको ठेगानामा छापा मारेर पक्राउ गरेका हुन् ।

प्रह्लाद बिसी नाम गरेका ती युवकले ७ कक्षासम्ममात्र अध्ययन गरेका छन् ।

उनको साथबाट सिसीहरु, पाउडर र केमिकल बरामद गरियो । सिसीमा कोभिड-१९ लेखिएको स्टिकर पनि टाँसिएको थियो ।

प्रहरी र औषधि निरीक्षकहरुकाअनुसार आरोपीले उक्त नक्कली खोप बेचेका भने थिएनन् ।

आफ्नो खोपले कोरोना पूर्णरुपमा निको हुने दाबी आरोपीले गरिरहे ।

औषधि निरीक्षकहरुले उनलाई खोपको संरचनाबारे बताउन आग्रह गरे । तर, उनले त्यसलाई अस्वीकार गरे । ‘अति गोप्य’ भने ।

प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ । यसअघि, कुनै नक्कली औषधिको कारोबारमा संलग्न भए/नभएकोबारेमा पनि अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।