१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रोजगारीका लागि भारत जाने नेपालीको लर्को : रोगले भन्दा भोकले सताएको गुनासो(भिडियो)


0
Shares

कैलाली । दसैं तिहार नजिकिँदै गएपनि रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन बढ्दै गएको छ ।

रोगको डरले स्वदेश फर्कनेभन्दा भोकको डरले भारत धाउनेको हुल पाँच गुणा ठूलो छ ।

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  ।

केही समय पहिले कोरोना महामारीका कारण नेपाल आएकाहरु खान लाउन समस्या भएपछि दसैं तिहारको मुखमा रोजगारीका लागि फेरि भारत जान थालेका छन् ।

देशमा रोजगारीको अवसर नपाएपछि पेट पाल्नकै लागि भारत जानु सुदूरपश्चिमका नागरिकको बाध्यता बनेको छ ।

कोरोनाकै प्रभावका बीच केही महिनाअघि घर फर्किएकाहरु अहिले फेरि त्रिनगर–गौरीफन्टा नाका भएर भारत गइरहेका छन् ।

नेपालीको महान चाड दसैंं आउन एक महिना मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेका कैलालीका अर्जुन विष्ट भारतमा कोरोना महामारी फैलिएकै कारण स्वदेश फर्केका थिए ।

भारतमै रोजगारी गरेर परिवार खर्च चलाउँदै आएका बिष्टले दसैंं नजिकै आउँदै गरेको भएपनि दैनिकी चलाउनै समस्या हुन थालेपछि भारत जान लागेको बताउनुभयो ।

स्थानीय तह र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास नै नभएको बताउँदै उहाँले भारत जानुको विकल्प नभएको गुनासो गर्नुभयो ।

गत चैतदेखि सुरु भएको कोरोना भाइरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए ।

कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए ।

झण्डै चार÷पाँच महिनाको स्वदेश बसाइमा घरखर्च चलाउनसमेत नसकिने भएपछि फेरि भारत जानु परेको कञ्चनपुरका जगदिश नाथले गुनासो गरेका छन् ।

परिवार भोकले मर्ने चिन्ता भएपछि चाडपर्वको मुखमा पुनः भारत जान बाध्य भएको उहाँ बताउनुहुन्छ ।

असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै ६ हजार नेपाली भारत पसेका छन् ।

दुई साता यता भारत जाने नेपालीको संख्या उच्च रहेको धनगढी उपमहानगरपालिका सीमा हेल्थडेस्क प्रमुख दिनेश ठकुल्लाले बताउनुभयो ।

भारतबाट चाडपर्व मान्न फर्किनेभन्दा रोजगारी गर्न जानेको सख्या बढ्दै गएको उहाँको भनाइ छ ।

विश्वमा कोरोना भारइसको महामारी सुरु भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलकमा रहेका धेरै नेपाली स्वदेश फर्किएका थिए ।

स्वदेश फर्किएका नेपालीहरुलाई त्यति बेला तीनै तहका सरकारले रोजगारीको सुनिश्चितता गर्ने ठूला ठूला योजना बनाएपनि रोगभन्दा भोकको डरले महामारीकै बेला विदेशीनु सुदूरपश्चिमबासीको बाध्यता हो ।

भिडियो