२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदको विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको माग


13
Shares

congress meeting

काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरुसमेतको बैठकले सरकारलाई विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्ने भएको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा कोभिड-१९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारीरुपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठाउनका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले वर्तमान सरकारका ज्यादतीका विरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताउनुभयो ।

कांग्रेसले सामाजिक दूरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

केन्द्रीय कार्यसमिति बैठकमा पौडेल समूहले उठाएका विषयहरुमा जवाफ दिने बताइएको छ ।