१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायली श्रमबजार नेपालीका लागि खुला, अब यी क्षेत्रमा हुनेछ रोजगारीको अवसर


0
Shares

काठमाडौं, असोज १५ । इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रमबजार नेपाली युवाका लागि खुला भएको छ ।

नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।

सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गर्नुभएको छ ।

यसले केयर गिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछिमात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुने तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि विभिन्न चरणमा छलफल भइ सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रकारुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत)मा नेपालबाट केयर गिभर ल्याउनेसम्बन्धी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा छिट्टै सम्झौता हुने दूतावासको भनाइ छ ।

त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगारीका लागि इजरायल जानेछन् ।

यसैगरी, इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भइ नेपाली युवाको विदेशिनेक्रममा समेत कमी आउने विश्वास गरिएको छ ।

यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।

केही दिनअघि नेपाल सरकारले इजरायलसँग रोजगारी र कृषिसम्बन्धी सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत शाक्यलाई अख्तियारी दिएको थियो ।

सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र इजरायलका परराष्ट्रमन्त्री आस्खेनाजीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा विचारविमर्श भएको दूतावासले जनाएको छ ।

राजदूत शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकका लागि इजरायलको कृषि, सेवा, निर्माणलगायत रोजगारीका क्षेत्र पनि खुला गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिउत्तरमा इजरायली परराष्ट्रमन्त्री आस्खेनाजीले नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताउनुभएको नेपाली दूतावासाले जनाएको छ ।