९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


काँग्रेस जागरण अभियानः आरोपप्रत्यारोपको चौतारी


0
Shares

-नारायण पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको एकमहिना लामो प्रथम चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न भएपनि काँग्रेसका नेताहरुबीचको आरोप प्रत्यारोप अझै सकिएको छैन । काँग्रेसले संगठन सुदृढिकरण तथा कार्यकर्ताको मनोबल उठाउन भन्दै गत वैशाख २५ देखि जेठ २५ सम्म जागरण अभियान चलाएको थियो भने दोस्रो चरणको प्रदेश निर्वाचन क्षेत्र केन्द्रित अभियान आगामी भदौ २४ देखि असोज १० सम्म र तेस्रो चरणमा पुस ७ देखि १६ सम्म स्थानीयस्तरको अभियान सञ्चालन गर्ने बताइएको छ । अघिल्लो बर्ष असारमा हेटौँडामा बसेको काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलाले जागरण अभियानको माग गरेको थियो भने गत यस्तै मंसीरमा सम्पन्न महासमिति बैठकमा पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गराउनुपर्ने चर्को माग उठेपछि ढिलै भएपनि काँग्रेसले जागरण अभियान प्रारम्भ गर्‍यो ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १४औँ महाधिवेशनको तालिका सहित पूर्वतयारी स्वरुप  देशव्यापी जागरण अभियान सञ्चालन गर्ने प्रस्ताव राखेपछि काँग्रेसले राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक तथा सांगठनिक प्रशिक्षण सहित सदस्यता वितरण अभियान कार्यक्रम लिएर काँग्रेस देशव्यापी रुपमा संगठन बिस्तारमा लागेको छ । तर जागरण अभियानको पहिलो चरण सकिँदै गर्दा पार्टीभित्र केही प्रश्न पनि खडा भएका छन् ।

किनकी नेताहरु अझैपनि पहिला जागरण अभियान कि संगठन सुधार भन्ने प्रश्नमा विभाजित मानसिकतामै रहेका छन् भने कार्यकर्ताले प्रतिपक्षले बलियो र प्रभावकारी भूमिका निर्वाह नगरेको, प्रमुख नेताहरु पार्टीमा भागबण्डाको खेतीमा लागेको भन्दै प्रश्न उठाईरहँदा शीर्षस्थ नेताहरु ती बिषय सम्बोधनमा लाग्नुको साटो आरोप प्रत्यारोपमा लागिरहेका छन् । त्यस्तै वाइडबडी घोटाला, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण, संविधान विपरीत संसदमा विधेयक प्रस्तुत, संवैधानिक परिषदबाट विपक्षी दलको नेता विना नै भएका निर्णय, गुठी तथा मिडिया बिधेयक लगायतका मुद्दालाई पार्टीका नेताहरुले प्रभावकारी ढंगले उठाउन नसकेको बहुसंख्यक कार्यकर्ताहरुको गुनासो छ ।

यसरी वर्तमान दुईतिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार काण्डैकाण्डमा फस्दा समेत प्रतिपक्षले बलियो प्रतिवाद गर्न नसकेका बेला जगारण अभियानबाट काँग्रेस जागृत हुने अपेक्षा गरिएपनि अपेक्षाकृत माहोल तयार गर्न सकेको देखिएन । जुन कुरा पार्टीका प्रभावशाली नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटौला लगायतले बताइरहेका छन् ।

अर्कोतर्फ संस्थापन इतर पक्षले जागरण अभियान काँग्रेसलाई बलियो बनाउन भन्दापनि सभापति शेरबहादुर देउवालाई बलियो बनाउन प्रयोग भएको आरोप लगाएका छन् भने कार्यकर्ताले दोस्रो चरणको अभियान शुरु हुनुअघि शीर्ष नेताहरुले एकताको ठोस सन्देश दिनुपर्ने माग अगाडि सारेको छन् । किनकी पार्टीका दोस्रो पुस्ताका युवा नेताहरु नै अभियानको बिषयलाई लिएर एकपक्षले वर्तमान नेतृत्वबाट काँग्रेसमा जागरण नआउने बताईरहँदा अर्को पक्षले तत्काल नेतृत्व परिवर्तनको बेला नभएको भन्दै पार्टीलाई नवीनतम् ढंगले रुपान्तरण गर्न जागरण अभियानले सघाउने दाबी गर्दै नेतृत्वको बचाउ गरेपनि वास्तवमा यो जागरणले ठोस परिणाम दिन नसकेको यथार्थता लुकाउन मिल्दैन ।

पहिलो चरको जागरण अभियान चलिरहँदा पार्टीका नेताहरु पार्टीले खटाए बमोजिम प्रत्येक जिल्लाहरुमा गएपनि पार्टीभित्रको चरम असन्तुष्टिका बाबजुद कार्यक्रममा सहभागी भएको देखियो । किनकी नेविसंघ लगायतका विभिन्न भातृसंस्थाहरुको अधिवेशन नहुँदा काँग्रेस संगठनभित्र देशभर असन्तुष्टि तथा विवाद देखिएको हुँदा संरचना बेगरको पार्टीजस्तो भएपछि कार्यकर्ताहरुमा निराशा छाएका अवस्थामा जागरणले त्यसलाई छोप्न सकेन अनि कसरी जागृत हुन्छ काँग्रेस ? हुनत पछिल्लो निर्वाचन परिणाम पछि काँग्रेस जागरण अभियानको पहिलो चरणले ग्यारेजमा थन्किएको काँग्रेसको गाडी स्टार्ट त भएको छ ।

तर आगामी दिनहरुमा गाडी हाइवेमा अवतरण गरी गन्तव्यका लागि गति लिन्छ कि लिँदैन ? भन्ने चिन्ता यथावत नै रहेको देखिन्छ । अर्कोतर्फ ढिलो गरी जागरण अभियान सञ्चालन गर्दा पार्टीको १४ औँ महाधिवेशन समयमा हुने सम्भावना घट्दै गएको केही नेताहरुले संकेत पनि गरेका छन् र यही शंकालाई बल पुर्‍याउने गरी सभापति देउवाले पार्टीको महाधिवेशन साढे ५ बर्षमा हुने बताईसकेका छन् ।

वर्तमान काँग्रेस केन्द्रीय कार्यसमितिको म्याद अबको १० महिनामा सकिँदैछ र विधान अनुसार फागुन मसान्तभित्र नियमित महाधिवेशन गरिसक्नुपर्ने हुन्छ भने केन्द्रीय महाधिवेशन हुनुभन्दा एकबर्ष अगावै स्थानीय तहको अधिवेशन भईसक्नुपर्ने विधानमा व्यवस्था छ । तर सभापति देउवा यतिबेला महाधिवेशन भन्दा आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा डेढबर्ष कार्यकाल बढाउने योजनामा अगाडि बढिरहेका छन् ।

किनकी विधानले चारबर्षको कार्यकाल तोकेको छ र विधान अनुसार नै थप एकबर्ष कार्यकाल बढाउन पाईन्छ भने नेपालको संविधानले राजनीतिक दलसम्बन्धी गरेको व्यवस्था अनुसार साढे ५ बर्षसम्म कुनैपनि राजनीतिक दलले महाधिवेशन तथा नयाँ नेतृत्व चयन गर्नसक्ने सुविधा दिएको छ । त्यही संवैधानिक प्रावधानलाई टेकेर महाधिवेशन सार्ने योजनामा देउवा रहेको उनी इतरपक्षको बुझाई छ ।

काँग्रेसले आफ्नो देशव्यापी जागरण अभियानमा गत महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीका स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्ने, पार्टीको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धी एवं समृद्धिको दिशामा गरिएको कामलाई नागरिकस्तरमा सम्प्रेषित गर्ने, वर्तमान सरकारका भ्रष्टाचार तथा विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे भण्डाफोर गर्ने, सबै वर्ग र क्षेत्रलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल गर्ने, कम्युनिष्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकारात्मक व्यवहार र उब्जिएको प्रतिकूल परिणाम, बौद्धिक समुदायप्रतिको अबौद्धिक टिप्पणी र अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित बेथितिजस्ता सन्दर्भले मुलुकको छविलाई परिरहेको प्रभावबारे बौद्धिक क्षेत्रसँग परामर्श गर्ने, तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाब बढाउने, भूकम्प, बाढीपहिरो, हावाहुरी, आगलागी जस्ता प्राकृतिक विपतमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुर्नस्थापना अभियानमा सघाउने, लोकतन्त्रको रक्षा, संघीयताको कार्यान्वयन लगायतका पक्षहरुमा जागरुकता ल्याउने, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप विरुद्ध खबरदारी गर्ने सहितका एजेण्डाहरु बोकेर काँग्रेस जागरण अभियानमा होमिएको भएपनि यी बिषयहरुमा मिहिन ढंगले छलफल नै हुन सकेन ।

यसरी पार्टीको आन्तरिक राजनीति अस्तव्यस्त भएकै कारण जागरण अभियानले पार्टी सुदृढिकरणमा तात्विक भिन्नता ल्याउन सकेन । पछिल्लो समय २०६४ सालमा तत्कालिन पार्टी सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काँग्रेस रहँदा पनि संकटपूर्ण अवस्थामा थियो । तर त्यसको लगत्तै काँग्रेसले आफूलाई जनतामाझ प्रस्तुत गर्न सफल भएकै कारण पुर्नजीवन प्राप्त गरेको थियो भने अहिले काँग्रेस जनतामाझ नगएको करिब एकदशक भईसकेको छ । साथै काँग्रेसका सबै नेता तथा कार्यकर्ताहरु शहरमुखी हुनु, राष्ट्र निर्माणको बलियो एजेण्डा नहुनु, गुट तथा उपगुट फस्टाउनु, जनताको मर्म अनुसार चल्न नसक्नु जस्ता कमजोरीहरुकै कारण काँग्रेस थला परेको छ ।

त्यसैले काँग्रेसले अब विगतमा आफूले गरेका कमीकमजोरीहरुमा सर्वसाधारण नागरिकहरु सँग माफी माग्दै उनीहरुलाई देशको वर्तमान यथार्थ चित्र बताउनुका साथै काँग्रेसले भन्दै आएको राष्ट्रियता, लोकतन्त्र र समाजवाद के हो ? नागरिकले वास्तवमा के चाहेका छन् र काँग्रेसले देश तथा जनताका लागि के गर्नसक्छ भन्ने कुरा समेतलाई जनतामाझ स्पष्ट पार्दै विश्वास दिलाउन सक्यो भने काँग्रेसको बिग्रिएको साख सुधार हुनसक्छ । अन्यथा केही अमुक व्यक्ति तथा समूहलाई नेता बनाउन मात्रै अल्झिने हो भने काँग्रेस अझै कमजोर नबन्ला भन्न सकिँदैन ।

कुनैपनि पार्टीको अवस्था कस्तो छ भन्ने मापन नै निर्वाचन मार्फत हुने गर्दछ । यसर्थ एउटा निर्वाचन सकिएको बर्षदिन पुगिसक्दा समेत विगतको परिणामलाई सम्झेर मात्र बस्ने रोगले पार्टीको साख बलियो हुन सक्दैन । त्यसैले आँउदो निर्वाचनलाई मध्यनजर गर्दै सदावहार रुपमा काँग्रेस जनतामाझ लोकप्रिय भईरहन आफ्ना योजना, नीति तथा कार्यक्रमहरु लिएर जनताको घरदैलोमा पुगिरहन सक्नुपर्दछ । उदाहरणका लागि विगतमा भूकम्प जाँदा, केहीसमय अगाडिको बाढीपहिरो तथा हावाहुरी प्रभावित क्षेत्रमा प्रतिपक्षको भूमिकामा रहेका काँग्रेसका नेताहरु सम्बन्धित स्थानमा पुगेर जसरी साथ, सहयोग र सहानुभूति प्रकट गरे, यसको निरन्तरता सदैव हुनु जरुरी छ । 

त्यस्तै निर्वाचनको बेलामात्र मरिमेटेर खट्ने काँगेसले सदावहार जस्तो चारतारे झण्डा ओढेर शितलता खोज्ने स्थानीय मतदाता र कार्यकर्ताको सुखदुःखमा सँधै साथ दिईरहन सक्नुपर्छ भने पार्टीभित्र रहेका केही स्वार्थी समुहहरुको पहिचान गरी कारवाही गर्न समेत काँग्रेस पछाडि पर्नुहुँदैन । साथै काँग्रेसले पुराना काँग्रेसलाई संरक्षण गरी नवकाँग्रेसीहरुको अभिलेख तयार गरी त्यसको अद्यावधिक प्रक्रियामा नियमित रुपले ध्यान दिन सक्ने हो भने काँग्रेस कहिल्यैपनि कमजोर बन्नुपर्ने देखिँदैन । त्यस्तै पार्टीका शीर्ष नेताहरुले आफ्नो मात्र गुणगान गाउने कार्यकर्तालाई काखी च्यापिरहने संस्कारको अन्त्य नभएसम्म काँग्रेस समयसापेक्ष गतिशिल पार्टीको दर्जामा पुग्न सक्दैन । (लेखक: अधिवक्ता हुन्)