१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘चाप्लुसी गर्नेलेमात्र मौका पाए’


0
Shares

काठमाडौं, असोज १६ । एक हातले राजीनामा, अर्को हातमा नियुक्ति । एक महिना कार्यकाल हुँदा-हुँदै मुख्यसचिवबाट राजीनामा दिएको क्षणभरमै बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीका सन्दर्भमा सामाजिक सञ्जालमा प्रयुक्त वाक्य हो, यो ।

उसो त अर्थमन्त्रीबाट राजीनामा दिनासाथ प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बन्नुभएका डा. युवराज खतिवडाले १५ दिनको बीचमा अर्को महत्वपूर्ण पद प्राप्त गरेर छलाङ मार्नुभएको विषय पनि निकै चर्चामा छ ।

त्यतिमात्र होइन, विधि र प्रक्रिया मिचेर निजामती सेवाको उच्च पद मुख्यसचिव पड्काउन सफल शंकर बैरागीको नियुक्तिलाई पनि प्राकृतिक मानिएको छैन ।

अमेरिका या बेलायतको राजदूत हुन योग्य मानिसहरु असंख्य छन् । निजामती सेवाको मुख्यसचिव हुन योग्यहरुको सूची पनि लामै छ ।

तर, शक्ति केन्द्रलाई रिझाएर पटक-पटक पद प्राप्त गर्दै आउनुभएका रेग्मी, खतिवडा र बैरागी फेरि एकपटक घुम्ने कुर्सीमा पुग्न सफल हुनुभएको छ ।

ती नियुक्तिहरुका सन्दर्भमा पर्याप्त परामर्श, पारदर्शी मापदन्ड र विधि तथा प्रक्रिया पूरा नभएको चोटिलो टिप्पणीहरु आउनेक्रम जारी छ ।

एउटै व्यक्तिलाई पटक-पटक महत्वपूर्ण नियुक्ति गर्दा मुलुकको शासकीय चरित्र उदांगो भएको छ ।

पूर्वप्रशासक शारदाप्रसाद त्रिताललाई पनि सरकारी रवैया त्यति रुचिकर लागिरहेको छैन ।

रेग्मी मुख्यसचिव हुँदा आफ्नो जिम्मेवारी बहनभन्दा शक्ति केन्द्र रिझाउन तल्लिन रहेकैले हाताहाती पद प्राप्त गर्न सफल भएको बुझ्न कठिन भएन ।

योबीचमा निजामती प्रशासन संक्रमणकालबाट गुज्रिएर सेवा प्रवाहमा कमजोर देखिनुमा रेग्मीकै कमजोर कमान्ड हो भन्ने टिप्पणीहरु सुन्न थालिएको छ । उहाँलाई इतिहासकै कमजोर मुख्यसचिवको दाग लागेको छ ।

बैरागीलाई विधि, प्रक्रिया र परम्परा मिचेर मुख्यसचिव बनाउनुले पनि सुखद् सन्देश दिएन ।

यही कारण त पूर्वमुख्यसचिव डा. विमल कोइराला देशको प्रशासनमा काम होइन, चाकडी र चाप्लुसी गरे जेपनि हुन्छ भन्ने सन्देश प्रवाह भएको ठानिरहनुभएको छ ।

उसो त अमेरिकाको राजदूत नियुक्त डा. खतिवडाको शृंखलाबद्ध नियुक्तिहरुले पनि देशको शासन–प्रशासनमात्र होइन, सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र कम्पन आयो ।

विगतमा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीको राजीनामा प्रकरण होस् या अन्य राजीनामा अनि नियुक्तिका सिलसिला निकै विकृत बन्दै गएको छ ।

पदअनुकूल जिम्मेवारी बहन नगर्ने तर शक्ति केन्द्र रिझाएर भटाभट पद प्राप्त गरिरहने संस्कार बढ्दै जाने हो भने मुलुकको शासन व्यवस्था थप बदनाम हुनेछ । योग्य र क्षमतावान व्यक्ति पाखा परिरहनेछन् ।

भिडियो हेर्नुहोस्