
काठमाडौं, असोज १७ । खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, नयाँ बसपार्कलगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथलगायतका क्षेत्रमा क्लिनिङले सरसफाइ गरेको हो ।
व्यावसायिकरुपमा नै सरसफाइको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्सलगायतका विभिन्न अस्पताल, गोंगबु, नयाँ बसपार्कलगायतका स्थानमा सफाइ गर्दै आएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश थापाले बताउनुभयो ।
अहिले पशुपतिनाथ क्षेत्रमा भिडभाड कम भएकाले सरसफाइमा सहज भएपनि दर्शनार्थीका लागि खुला भएपछि पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सरसफाइका काम अघि बढाइने उहाँले बताउनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाउँदै अहिले विभिन्न सेवा क्षेत्र खुला भएपनि पशुपतिनाथलगायतका धार्मिकस्थलहरु खुला हुनसकेका छैनन् ।
सामान्य अवस्थामा हजारौंको भिड हुने पशुपतिनाथ क्षेत्र महामारीको जोखिमका कारण खुल्न सकेको छैन ।
मन्दिर दर्शनका लागि खुला गरेपछि अहिलेको अवस्थामा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि सरसफाइसँगै ‘डिसइन्फेक्सन’को काम भइरहेको उहाँले बताउनुभयो ।
खेम्स क्लिनिङका सुपरभाइजर सञ्जु तिवारीले अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जनाभन्दा बढी जनशक्ति सरसफाइको काममा खटिएको बताउनुभयो ।
कम्पनीले सरसफाइमा खटिने कर्मचारीहरुको सेवा-सुविधा र स्वास्थ्य जोखिमलाई पनि विशेष ध्यान दिएको छ ।
अस्पताल क्षेत्रहरुमा सरसफाइको काम गर्दा केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।
नियमित सरसफाइको काममा खटिने कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाउन भनिएको छ । साथै, कोहीमा संक्रमण देखिएमा सात लाख रुपैयाँको जीवन बिमा र एक लाखको कोरोना बिमा गरिएको उहाँले बताउनुभयो ।
अहिले पुनः सञ्चालनको तयारीमा रहेका होटल, अस्पताल, बसपार्क, सवारी-साधन आदिमा पनि डिसइन्फेक्सनका लागि ठूलो माग आएको र आफूहरुले सोहीअनुसारका जनशक्तिहरु खटाइरहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्