१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरमा करिब १० हजार संक्रमित


0
Shares

काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ ।

कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नम्बर वडाका छन् । जहाँ ८७१ संक्रमित भएका छन् ।

त्यसैगरी वडा नम्बर-३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।

‘होम आइसोलेसन’मा बस्नेको संख्या दुई हजार ९९० रहेको छ । अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ ।

प्रमुख कुँवरकाअनुसार संक्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।

सरकारले भनेअनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्र्याइँ बढेपछि काठमाडौं उपत्यका कोरोनाभाइरस संक्रमणको केन्द्र बनेको छ ।

उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ ।

सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भिडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरेपनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ ।

अहिले देशभरिको कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० ‘आइसीयू’ र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।