
काठमाडौं, असोज १७ । कोरोना संक्रमण रोकिने कुनै छाँटकाँट छैन । संक्रमितको संख्या पछिल्लो दिन दैनिक दुई हजार बढी हुन थालेको छ ।
चाडबाडका समयमा मानिसहरु सहरबाट गाउँतर्फ जाँदा संक्रमण झनै बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
चाडबाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम झनै बढेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकाबाट मानिसहरु गाउँ फर्कन थालेका छन् ।
दसैं-तिहारजस्ता चाडपर्व मनाउन जाँदा स्वास्थ्य सचेतता नअपनाउने हो भने संक्रमणको दर निकै बढ्ने विज्ञहरुको ठहर छ ।
लामो दुरीको सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना नहुँदा जोखिम बढेको छ । त्यसैले स्वास्थ्य मन्त्रालयले चाडबाड मनाउन गाउँ फर्कंदा सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।
चाडपर्वमा आफ्ना परिवार तथा आफन्तको घरसम्म पुग्दा कोरोना संक्रमण परिवारसम्म पुग्नसक्ने जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षित बताउनुहुन्छ ।
आफू र आफ्नो परिवार बचाउनका लागि मास्कको अनिवार्य प्रयोग र भौतिक दुरी नै अन्तिम विकल्प रहेको उहाँको भनाइ छ ।
सरकारले पछिल्लो समय कोरोना संक्रमणको लक्षण नदेखिएकाको ‘पीसीआर’ परीक्षण नगर्ने नीति लिएको छ । यस्तो समयमा कोरोनाको कारक हामी आफैं बन्न सक्छौं ।
यो बेला कोरोनाको जोखिम अझै उच्च हुनसक्ने भएकाले पीसीआर परीक्षणको दायरा बढाउनैपर्ने डा. दीक्षितको सुझाव छ ।
चाडबाट मनाउन घर जाने भनेको परिवारको खुसीका लागि हो । तर, अहिलेको संवेदनशील परिस्थितिको हेक्का राख्न सकिएन भने कतै हाम्रो यात्रा नै परिवारको लागि संकट बन्ने त होइन ?
त्यसैले जोखिम कम गर्नका लागि अपनाउनुपर्ने सावधानीमा कसैले पनि खेलबाड नगरौं ।
प्रतिक्रिया दिनुहोस्