१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीको स्वास्थ्य अवस्था जटिल, सरकारले गर्‍यो बेवास्ता(भिडियो)


0
Shares

Dr kc hunger strike health detorating khanal nepal appeal

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि ज्यानको जोखिम मोलेर श्रृंखलावद्ध आमरण अनसन बस्नु पर्ने बाध्यताबाट डा. गोविन्द केसी मुक्त हुन पाउनु भएको छैन ।

१९ औं पटक विगत २२ दिनदेखि अनसनरत डा.केसीको जीवन जोखिममा पर्दा समेत सरकारले उहाँको माग सम्बोधनप्रति आँखा चिम्लिदिँदा अनेक प्रश्नहरु उठेका छन् ।

डा.केसीको स्वास्थ्य अवस्था नाजुक भई अक्सिजन दिन थालिएको छ, सरकार भने यो घट्नाक्रमप्रति बेखबर जस्तै बनेको छ ।

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँको पक्षमा सडक आन्दोलन समेत हुन थालेको छ ।

केसीको जीवन रक्षा र उहाँले उठाएका जायज माग पुरा गर्न त के सरकार वार्ताका लागि समेत अनुदार देखिन्छ ।

सरकारी प्रवक्ताको केही दिनअघिको यो आग्रहले एक सत्याग्रहीप्रतिको उपेक्षाभाव देखाउँछ ।

र डा.केसीले आफ्नोलागि होइन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार गरी जनतालाई लाभ दिन खोजेको तथ्यलाई पटक्कै ध्यान नदिएको भान हुन्छ ।

सरकारले यो असहिष्णु र गैरजिम्मेवार व्यवहार छोडेर तत्काल डा. केसीसँग वार्ता गर्नुपर्छ भन्ने मत निकै बलियो बन्दै गएको छ ।

भदौ २९ गतेदेखि जुम्लामा अनसन बसेपछि डा. केसीको स्वास्थ्य अवस्था नराम्रैरी बिग्रियो । फलस्वरुप उहाँलाई काठमाडांै ल्याइयो ।

काठमाडौ प्रवेशसँगै उहाँलाई अपहरण शैलीमा सरकारले ट्रमा सेन्टर पुर्‍यायो । चर्को विरोधपछि केसी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल पुग्नुभयो ।

लामो समयदेखि मुटुको औषधी सेवन गरिरहेका डा. केसीको औधषी नियमित नहुँदा आइतबारबाट सास फेर्न गाह्रो भयो । उहाँलाई अक्सिजनको सहारामा पुग्नु भएको छ ।

यो स्थितिमा डा. केसीलाई आइसियुमा भर्ना गरिनुपर्ने थियो, तर उहाँ जान मानिरहनु भएको छैन ।

डा. केसीका समर्थक उहाँको जीवन रक्षागरी माग पुरा गराउन सरकारले कहिले वार्तामा बोलाउँछ भनेर प्रतिक्षारत छन ।

एउटा सत्याग्रहीको जीवन जोगाउन र जनताका लागि उठाएका माग सम्बोधन गर्न पूर्व राष्ट्रप्रमुखदेखि पूर्व प्रधानमन्त्रीसम्मले सरकारलाई दबाब दिएका छन् ।

तर सरकार कसैको आवाज सुन्न तयार छैन । सरकारको यो जिद्दीपनले जुनसुकै दुर्घटना निम्त्याउन सक्नेतर्फ जानकारहरु निकै गम्भीर बन्दै गएका छन् ।

भिडियो