
काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमण दिन-प्रतिदिन उकालो लागिरहेको छ । मृत्यु हुनेको संख्या पनि दैनिकरुपमा बढिरहेको छ ।
कोरोनाले विश्व नै आक्रान्त छ । तीन करोड ५४ लाखभन्दा बढी व्यक्ति यसबाट संक्रमित हुँदा १० लाख ४१ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।
नेपालमा पनि संक्रमितको संख्या ८९ हजार नाघिसकेको छ । संक्रमणका कारण ५५४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना निको पार्ने कुनै औषधि छैन । खोप अहिलेसम्म बनेको छैन ।
कोरोना संक्रमणबाट जोगाउने भन्दै मानिसले विभिन्न जडीबुटीहरुको सेवन गर्ने गरेको पाइन्छ । तर, तिनले संक्रमणको जोखिम कम गरेको प्रमाणित तथ्य छैन । त्यसबाट कोरोना निको भएको पुष्टि भएको छैन ।
दैनिक भान्छामा तरकारी, मसलालगायतमा खपत हुने अदुवाको विषयमा पनि अनेक जिज्ञासा पाइन्छ । तर, यसले कोरोना रोक्न मद्दत नगर्ने चिकित्सक बताउँछन् ।
‘अदुवा किटाणु मार्ने वा यसको असर कम गर्ने विशेषता भएको खानाचाहिँ पक्कै हो’-डा. करिश्मा मल्ल वैद्य भन्नुहुन्छ-‘तर, यसको सेवनले कोरोनाभाइरसबाट बच्न सकिन्छ भन्ने कुनै एउटा प्रमाणित तथ्यचाहिँ अहिलेसम्म पाइएको छैन ।’
प्रतिक्रिया दिनुहोस्