
काठमाडौं, असोज २० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यतिबेला क्रिकेटको माहोल विश्वभर बनाएको छ ।
महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ ।
तर, कोरोना संक्रमणका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ ।
कोरोनाको चपेटामा परेका आयोजकले सरकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्नसक्ने दाबी गरेका छन् ।
नेपालमा ‘फ्रेन्चाइचिज’ लिगको अवधारणासहित स्थापित धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ति जारी गरेर अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।
प्रतियोगिता अनिश्चतकालका लागि स्थगित गर्नुपर्दा खेलाडीदेखि विज्ञापनदाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो ।
कात्तिक महिनामा खेलतालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन ।
महामारीकाबीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नुपर्ने शाहीले बताउनुभयो ।
नेपालमा क्रिकेट संघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले ‘क्यालेन्डर’मा समावेश गरेर सञ्चालनको वातावरण बनाउनुपर्ने कतिपयले सुझाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्