
काठमाडौं, असोज २० । नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकोक्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ ।
मंगलबार संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, ‘स्मार्ट सिटी’ निर्माणलगायतका आयोजनाका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको हो ।
द्रुतमार्ग निर्माण हुँदा नै स्थानीयले जग्गा नमासिने गरी काम गर्न आग्रह गरेपछि वाग्मतीमा दुईओटा पुल थप्ने गरी काम सुरु गरिएको भएपनि बाहिरी चक्रपथ र स्मार्ट सिटी परियोजनामा आवश्यक समन्वय हुन नसक्दा समस्या बढेको सेनाले बताएको हो ।
सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले जग्गा विवाद समाधान गरेपछि द्रुतमार्गसँग सरोकार नै नराख्ने बाहिरी चक्रपथ र स्मार्ट सिटीका विषयले विवाद निम्त्याएको बताउनुभयो ।
आयोजना प्रमुख विकास पोखरेलले वि.सं. २०८१ मा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढिरहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८ मा डिजाइन र टेन्डरको लागि समय राखेर तीन वर्षमा सुरुङमार्ग निर्माण सक्ने योजना रहेको उहाँले बताउनुभयो ।
गृह मन्त्रलायका सचिव रश्मिराज पाण्डेले समयमै ‘डीपीआर’ तयार नहुनु, तयार भएपछि मन्त्रिपरिषद्बाट ढिला पारित हुनु, कोरोना र खोकना विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताउनुभयो ।
छलफलमा सांसदहरुले फास्ट ट्रयाक २०८१ मा सम्पन्न हुने आधार के हुन् र अहिले निर्माणमा किन ढिलाइ भइरहेको छ ? भन्दै प्रश्न गरेका थिए ।
नेपाली सेनाले आयोजनाको कुल भौतिक प्रगति ११.११ प्रतिशत र वित्तीय प्रगति ९.५२ प्रतिशत रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्