
झापा, असोज २१ । नाटक या अभिनय एउटा कला हो । कला र अभिनयको संरक्षण गर्न अहिले झापाबासी जुटेका छन् । ‘एक व्यक्ति एक इँटा’ अभियानमार्फत् ‘झापा नाटक घर’ निर्माणमा उनीहरु जुटेका हुन् ।
बिर्तामोड नगरपालिका-२, चारपाने निवासी माधव सिटौला । क्षितिज नाट्य समूहमा आबद्ध कलाकार सिटौला तारादेवीकोमात्र होइन, धेरैको आवाजमा दुरुस्तै गाउन र अभिनय गर्न सक्छन् । जसका कारण उनको अहिले झापामा चर्चा चुलिँदै गएको छ ।
मानव जीवनका विविध पक्षको कलात्मक प्रस्तुति दिनसक्ने सिटौलामात्र होइन, अहिले झापामा संस्थागत रुपमा कला क्षेत्रको विकासका लागि ‘झापा नाटक घर’ निर्माण गर्न झापाबासी जुटेका छन् ।
आफ्नो कला, संस्कृति र रहनसहन विस्थापित हुँदै गएकाबेला झापाबासी भने यतिखेर आफ्नो संस्कृति र कला बचाऔं भन्ने अभियानमा एक ढिक्का भएका छन् ।
प्रदेश नम्बर-१ मा रहेको झापा नाटक घर निर्माणका लागि अहिले ‘एक व्यक्ति एक इँटा’ अभियानमार्फत् दाताकै सहयोगमा दुई करोड ५० लाख रुपैयाँको लागतमा झापा नाटक घर निर्माण भइरहेको छ ।
बिर्तामोडका मनोज निरौलाले साढे तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि अहिले झापामा २५ करोड रुपैयाँको लागतमा बहुभाषी, बहुजातीय, बहुसाँस्कृतिक संग्रहालयसहितको नाटक घर निर्माणको ‘डीपीआर’ तयार गरिएको छ । नाटक घर निर्माणका लागि अहिले दाताले सहयोग गरिरहेका छन् ।
जन्मोत्सव, सभा-समारोह, विवाह वर्षगाँठलगायतमा गरिने फजुल खर्च कटाएर झापामा निर्माण हुँदै गरेको नाटक घर निर्माणमा सहयोग गर्नेको लर्को बढेको छ ।
अहिले झापामा कसैको जन्मोत्सव मनाउनु परे वा विवाह वर्षगाँठमा कुनै कार्यक्रम गर्नु परे निर्माणाधीन नाटक घरमा सहयोग दिएरमात्र मनाउने गरिएको छ ।
‘एक थुकी सुकी सय थुकी नदी’ भनेझैं झापा नाटक घर निर्माणका लागि अहिले झापाबासीबाटमात्रै एक करोड १५ लाख रुपैयाँ संकलन भइसकेको छ ।
नाटक घर निर्माणका लागि दाता निरौलासँग थप छ कठ्ठा जमिन लिजमा लिएको र अन्य जमिन खरिदका लागि एक व्यक्ति एक इँटा अभियानमार्फत् ३० लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ ।
अभिनयको लागि तिख्खर पूर्वको झापाबाट केन्द्रीयस्तरमा समेत अभिनय क्षेत्रमा प्रमुख स्थान रहेको छ । त्यसैले अभिनय र कला-संस्कृतिको संरक्षण गर्नको लागि नाटक घरले झापाबासीको लागिमात्र नभइ पूर्व क्षेत्रमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्