
काठमाडौं, असोज २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो स्थायी कमिटी बैठकले निर्णय गरेपछि मन्त्रिमन्डल पुनर्गठनको चर्चा सुरु भएको थियो ।
तर, स्थायी कमिटीले प्रस्ताव पारित गरेको तीन साता बितिसक्दा पनि मन्त्रिमन्डल पुनर्गठनको विषयले ठोस आकार लिनसकेको छैन ।
पार्टीको सचिवालय बैठकले स्थायी कमिटीको बैठकको ‘म्यान्डेट’अनुसार मन्त्रिमन्डल पुनर्गठनबारे एउटा बैठकमा छलफल गरेपनि त्यसपछिका बैठकमा छलफलसमेत हुनसकेको छैन । यसले मन्त्रिमन्डल पुनर्गठनमा अन्योल देखिएको छ ।
पार्टीको आन्तरिक एकता सुदृढीकरणका लागि भन्दै भदौ २६ गते सकिएको स्थायी कमिटीको निर्णय र २९ गते जारी गरिएको १५ बुँदे सहमतिपत्रको एक महत्वपूर्ण बुँदा हो, मन्त्रिमन्डल पुनर्गठन ।
स्थायी कमिटीको निर्णय र सहमतिपत्रको म्यान्डेटअनुसार असोज ४ गते पार्टीको सांगठनिक कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमन्डल पुनर्गठनबारे सैद्धान्तिक र नीतिगत छलफलसमेत भयो । तर, त्यसपछि बसेका सचिवालय बैठकमा पुनर्गठनसम्बन्धी छलफल नै भएन ।
हुन त पछिल्लो स्थायी कमिटी बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहेको छ । अध्यक्षद्वयबीच हुने छलफल प्रायः मन्त्रिमन्डल पुनर्गठनमै केन्द्रित हुने गरेको छ ।
तर, मन्त्रिमन्डल पुनर्गठनसम्बन्धी अध्यक्षद्वयको छलफलले अझै ठोस आकार लिनसकेको छैन ।
असोज ४ गतेको सचिवालय बैठकले मन्त्रिमन्डल पुनर्गठनका लागि सहमति जुटाउन अध्यक्षद्वयलाई जिम्मा दिएपनि त्यसपछिका बैठकमा उहाँहरुले मन्त्रिमन्डल कहिले पुनर्गठन हुन्छ भनेर सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको छैन ।
अध्यक्षद्वयबीच नै सहमति जुट्न नसकेको कारण मन्त्रिमन्डल पुनर्गठन बैठकको एजेन्डा बन्न नसकेको सचिवालयका सदस्यहरुको भनाइले पनि स्पष्ट गर्छ ।
पटक–पटकको छलफलबाट पनि अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा मन्त्रिमन्डल पुनर्गठनमा अन्योलता छाएको छ ।
प्रतिक्रिया दिनुहोस्