
ताप्लेजुङ, असोज २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ ।
ओलाङचुङगोलास्थित बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटनकाक्रममा बुधबार ताप्लेजुङ आउनुभएका मन्त्री भट्टराईले लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः खोल्दै लैजाने तयारी भएको बताउनुभयो ।
मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकदेखि खोल्ने बताउनुभयो ।
चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएकाले स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने उहाँले स्पष्ट पार्नुभयो ।
यसअघि, मन्त्री भट्टराईले ओलाङचुङगोलास्थित बीओपीको उद्घाटन गर्दै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती घट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्