
काठमाडौं । काठमाण्डौंमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिने भएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको हो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो ।
सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो ।
उहाँका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी भएका सडकमा पहिलो चरणमा पैदलयात्रु मार्ग अघि बढाउँदैछ । विस्तारै सबै सडकमा यसलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।
डिभिजनले बढी चाप भएका सडकसँगै निर्माणका क्रममा रहेका सडकमा समेत अपाङ्गतमैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने योजना बनाएको छ ।
हाल निर्माण भइरहेको गौशाला–चावहिल सडकमा यसलाई अघि बढाइएको प्रमुख नेपालीले बताउनुभयो ।
यस्तै, सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको कोटेश्वर–जडीबुटी सडकमा पनि पैदलयात्रु मार्ग निर्माण गरिने भएको छ ।
गत वर्षमा आवधिक मर्मतको काम गरेर खाल्डाखुल्डी धेरै ठाउँमा हटाएको डिभिजनले यस बर्ष पैदलयात्रु मार्गतर्फ ध्यान दिएको हो ।
सरल, सहज र अपाङ्गतामैत्री पैदलयात्रु मार्ग बनाउँदा सबैलाई हिँड्न सजिलो हुने जनाइएको छ । डिभिजनले संघीय सरकारअन्तर्गत सडकको मर्मत र स्तरोन्नतिको काम गर्दै आएको छ ।
सङ्घअन्तर्गत धेरै सडकमा पैदलयात्रु मार्ग छैन । कतिपय स्थानमा भए पनि अपाङ्गता भएका व्यक्ति मात्रै मात्रै होइन अरु पैदलयात्रुलाई समेत आवतजावत कठीन हुने किसिमको रहेको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्