१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिमन एकलाख बढी मूल्यमा विक्री भएको अलैंची अहिले २० हजारमै किनबेच हुन मुस्किल


0
Shares

ताप्लेजुङ । पहाडी क्षेत्रको मूख्य आम्दानीको स्रोत अलैँचीले भनेजस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित भएका छन् ।

गत बर्षको तुलनामा यो बर्ष अलैचीले कम मुल्य पाएपछि ताप्लेजुङका किसानहरुमा थप चिन्ता थपिएको हो ।

केही वर्षयता अलैँचीको मूल्यमा उतारचढाब आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले विक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसंगै भाउ बढ्ने आशा गरेका थिए ।

चार वर्ष अघि एक मन ४० किलोको एक लाख भन्दा बढि मूल्यमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक दंग थिए ।

एक्कासी मूल्य वृद्धि हुँदा अलैँचीमा लगानी पनि थपे । तर अर्को वर्षदेखि क्रमस मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका किसान एकाएक निरास बने ।

अहिले ताप्लेजुङमा प्रतिमन को २० देखि २१ हजारका दरले किनबेच भईरहेको छ । गएको वर्ष प्रतिमन २६ देखि २७ हजारका दरले अलैँचीको कारोबार भएको थियो ।

चार वर्षअघि प्रति मन १ लाख भन्दा बढी मुल्यमा कारोबार भएपछि जिल्लाका अधिकांसले खेतबारी मासेर अलैँची रोपेका थिए ।

पहाडी भुभागमा प्रशस्तै उत्पादन हुने अलैँचीको बजारीकरण र मूल्यमा सुधार गर्नसके मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने र आफुहरुलाई समेत फाईदा पुग्ने अलैँची किसानको भनाई छ ।

भाउ घटे पनि फेरी बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने निरन्तरता दिई रहेकाछन् । तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने संकेत देखिदैन ।

हालसम्म नेपालमा उत्पादित अलैँची भारत बाहेकका मुलुकमा सिधै निर्यात हुन सकेको छैन ।

भारतीय बजारको मात्रै भरपर्दा यसले ठुलो मूल्य पाउन नसकेको अलँैची व्यसायीको भनाई छ ।

भारतदेखि बाहेकका मुलुकमा समेत सिधै निर्यातको बातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यक भएको अलैंची व्यवसायिक संघका अध्यक्ष बालमणी बरालले जानकारी गराउनुभएको छ ।

वषौदेखि अलैँचीको मूल्यमा आइरहने उतारचढाबलाई रोक्दै मूल्यमा एकरुपता ल्याउन र बजारीकरणका लागि राज्य थप जिम्मेवार बन्नसके अलैँची किसान तथा व्यवसायीको समस्या समाधान हुने देखिन्छ ।