१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जहाँ घाम अस्ताएसँगै अस्ताउँछ फोन…


0
Shares

प्यूठान, असोज २२ । अहिलेपनि टेलिफोनमा कुरा गर्न डाँडामा जानुपर्छभन्दा आश्चर्य लाग्नसक्छ । तर, आश्चर्य मान्नु पर्दैन । प्यूठानको ग्रामीण क्षेत्र अर्खा रजवारा तथा नौबहिनीका ग्रामीण क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा एक कल फोन गर्नकै लागि घर छाडेर डाँडामा जानुपर्ने बाध्यता छ ।

नेपाल सरकारले सबै नेपालीमा गुणस्तरीय सञ्चारको पहुँच पुर्‍याउने घोषणा गरेपनि प्यूठानको उत्तरी गौमुखी गाउँपालिकाका अर्खा, रजवारा, नौबहिनी गाउँपालिका र गुल्मीको अग्लुङका जनता मोबाइल फोन सुविधाबाटै वञ्चित छन् ।

गौमुखी गाउँपालिका वडा नम्बर-३ मा रहेको नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगर्दा त्यहाँका बासिन्दा अझैपनि सञ्चारको पहुँचबाहिर रहेका छन् ।

भौगोलिक विकटता रहेको गाउँपालिकाका वडा नम्बर-१, २ र ३ का अर्खा, रजवारा क्षेत्रमा मोबाइल फोन सम्पर्क हुँदैन ।

घरमै सुतिसुती फोन गर्ने अहिलेको दुनियामा यहाँका बासिन्दालाई भने डाँडा-डाँडा उक्लिनुपर्ने बाध्यता छ । नेटवर्क नहुँदा र पर्याप्त पावर नहुँदा घाम अस्ताएसँगै टेलिफोन पनि अस्ताउने गरेको छ ।

गौमुखी गाउँपालिका वडा नम्बर-१ र २ को ठूलाचौरको केही भू-भागबाहेक बाँकी सबै ठाउँमा रातभर सञ्चार हुँदैन ।

गौमुखीको वडा नम्बर-३ स्थित बस्तुकमा रहेको टेलिकमको टावर सोलार प्यानलको ब्याट्रीमार्फत् चार्ज हुन्छ । विद्युत् नभएकै कारण सेवा प्रभावकारी हुनसकेको छैन ।

अहिले यहाँका बीटीएस टावरमा रहेका सौर्यबत्तीका ब्याट्रीले काम गर्न छाडेपछि सेवा प्रभावकारी हुन छाडेको हो ।

वडा नम्बर-२ को हालत पनि उस्तै छ । ठूलाचौरमा झिमरुक गाउँपालिका तुसारामा रहेको नेपाल टेलिकमको नेटवर्कले केही काम गरेपनि अन्य स्थानमा भने समस्या छ ।

गौमुखी गाउँपालिकाको रजवारामा विद्युत्लाइन विस्तार नभएकाले समस्या भएको नेपाल दूरसञ्चार संस्थान, प्यूठान शाखाले जनाएको छ ।

सौर्यप्रकाशमा सोलार प्यानल भरपर्ने हुँदा समस्या दोहोरिरहेको छ । टावरलाई आवश्यक पर्ने ब्याट्री खरिदका लागि टेन्डर भएको भएपनि अहिलेसम्म काम हुनसकेको छैन ।

सरकारले सबै नेपालीमाझ गुणस्तरीय टेलिफोन सेवा तथा इन्टरनेटको विस्तार गर्ने नीति ल्याएपनि कार्यान्वयन गर्न ढिलासुस्ती गर्दा ग्रामीण क्षेत्रका जनताले सेवा लिनबाट कहिलेसम्म वञ्चित हुने ?