
चितवन, असोज २२ । मृत्युपछि गरिने आँखादानले जीवनमा दृष्टिविहीन भइ जिउन परिरहेका व्यक्तिहरुले संसार देख्न सक्छन् । चितवनमा पनि पछिल्लो समय आँखादान गर्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको छ ।
चितवनमा रहेको भरतपुर आँखा अस्पतालले तिलगंगा आँखा अस्पतालसँग आँखादान गर्ने र आवश्यक परेका व्यक्तिहरुलाई प्रत्यारोपण गर्ने सम्झौता गरेपछि चितवनमा यसको चर्चा चुलिएको थियो ।
त्यसो त तिलगंगा अस्पतालसँग सम्झौता गरेको एक वर्षसम्म त कुनै प्रगति नै भएन ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी टू एरिया नम्बर ३ ले यसलाई अभियानकैरुपमा अगाडि बढाएपछि नेत्रदाताहरु बढिरहेका छन् ।
विश्व दृष्टि दिवसकै अवसरमा क्लबले अस्पताललाई ४६५ जनको मञ्जुरीनामा हस्तान्तरणसमेत गरेको छ ।
मञ्जुरीनामा दिएकाहरुको मरणोपरान्त आँखा निकालिने गरिन्छ । एकजना बराबर चारजनाको आँखाको ज्योति फर्काउन सकिने भन्दै यो पुण्यकार्यमा जोडिन सबैलाई आग्रहसमेत गरिएको छ ।
बिहीबार हस्तान्तरण गरिएको मञ्जुरीनामाबाट कम्तीमा १७ देखि १८ सयजनाको ज्योति फर्काउन सकिनेछ ।
चितामा जलेर खेर जाने आँखाको नानीलगायतको भागले नेत्रहीन रहेकाहरुले दुनिया देख्नसक्ने सन्देश बुझाउन आवश्यक भएको बताइन्छ ।
अस्पतालमा अहिलेसम्म नौजनाले आँखादान दिए भने ८२ जनाको आँखाको नानी परिवर्तन गरिएको र प्रत्यारोपण गर्ने जनशक्ति र मेसिन अस्पतालकै रहेको बताइएको छ ।
जलविन्दु विशेषज्ञ डा. रन्जितकुमार शाहले रुढिवादी परम्परागत सोचाइ हटाएर नेत्रदान गर्नेहरुलाई बढाउन सके अँध्यारोमा रहेकाहरुलाई उज्यालो दिन सकिने बताउनुभयो ।
अस्पतालका दयाशिखर चौधरीले लायन्स क्लब अफ इन्टरनेसनल र लायन्स क्लब अफ नारायणगढमार्फत् अहिले करिब साढे तीन करोड बराबरको मेसिन जडान भएको बताउनुभयो । यसले अस्पतालको सेवा थप विस्तारसँगै गुणस्तरीयता प्रदान गर्न सकिने बताउनुभयो ।
कोभिड-१९ को संक्रमणको समयमा पनि बिरामीको चाप बढेको बताउँदै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सेवा दिइरहेको उहाँले बताउनुभयो ।
मुख्य १० जिल्लाका वार्षिक दुईदेखि साढे दुई लाख बिरामीले अस्पतालमा सेवा लिने गरेका छन् । त्यसैले दृष्टि दिवसको दिनमा दृष्टि नहुनेहरुलाई दृष्टि प्रदान गर्न सकिए त्योभन्दा ठूलो पुण्य अरु केही हुने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्