१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगर र सुनसरीमा चार कोरोना संक्रमित पुरुषको मृत्यु


0
Shares

विराटनगर/सुनसरी । विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

मोरङको रंगेली र सुनसरीको धरान घर भएका दुई जना कोरोना संक्रमित पुरुषको विराटनगरमा उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमितको गएराति मृत्यु भएको हो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

कुनै दीर्घ रोग नरहेका उनलाई श्वास फेर्न समस्या हुने र फोक्सोमा संक्रमणको समस्या भएर असोज १७ गते उपचारका लागि भर्ना गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक दुवै जनामा मृगौला सम्बन्धी रोग रहेको बताइएको छ ।